क्यान इन्फोटेककाे दाेस्राे दिनमा एक लाखद्वारा अवलोकन

  २०७५ माघ १७ गते १५:४५     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.