३६ करोडको आलु फल्यो, बजार मूल्य भने प्रतिकिलो १३ रुपैयाँ !

  २०७५ माघ १६ गते ११:१७     विकासन्युज

वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् ।

यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका-२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ ।

यस वर्ष पर्सा जिल्लाका किसानले एक हजार १५० हेक्टर क्षेत्रफलमा आलु खेती गरेकामा ३६ करोड ८० लाख मूल्य बराबरको २३ हजार मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गत वर्ष पर्साका किसान एक हजार १२० हेक्टर क्षेत्रफलमा आलुखेती गरी २० हजार १६० मेट्रिक टन आलु फलाएका थिए ।

हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताए ।

पश्चिमी पर्साको बिरुवा गुठी, बेलवा, भिखमपुर गादीमा किसानले व्यवसायी रुपमा कुण्डी, सिचरी, लालगुलाब ३४ र गाढा जस्ता उन्नत जातको आलु खेती गर्दै आइरहेका छन् ।

पहिला सरकारले किसानलाई अनुदानमा आलुको बीउ उपलब्ध गराउँदै आएकोमा अहिले स्थानीय सरकारले सो अनुदान बन्द गरेकाले सरकारी सुविधाबाट वञ्चित हुँदै आएको अर्का किसान अजय पण्डितको भनाइ छ । प्रतिदिन करीब पाँच लाखको आलु वीरगञ्ज बजारमा स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय तथा पहाडका आलु विस्थापित हुँदै गएको छ ।

यसपालि अत्यधिक मात्रामा आलु उत्पादन भएकाले भाउ घटेपछि यसको व्यापार भने बढ्न नसकेको मीनाबजारका आलु व्यापारी चन्द्रिकाप्रसाद रौनियारको भनाइ छ । किसान एकाबिहानै ट्र्याक्टर, टायर गाडामा राखी आलु लिएर वीरगञ्जमा बेच्न आउन थालेपछि यसको व्यापार सहज भएको छ ।

स्थानीय बजारमा थोक तथा खुद्रा गरी करीब १०० को हाराहारीमा आलु व्यापारी रहेका छन् । स्थानीय बजारमा अहिले नयाँ आलु प्रतिकिलो १३ को दरले बिक्री हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.