अन्ना हजारेले शुरु गरे अनशन, लोकपाल विधेयक कार्यान्वयन गर्न माग

  २०७५ माघ १६ गते १६:१०     विकासन्युज

रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् ।

केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् ।

भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

“कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,” आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने ।

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए ।

लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ ।

आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, “हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।”

उनले थपे, “लोकपाललाई निषेध गर्नेगरी तीन दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।”

“पाँच वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौँ,” हजारेले भने ।

भारतमा शहीद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.