हेलिकप्टर सोसाइटी भन्छ-पर्यटकमा गलत सूचना प्रवाह नगरौँ

  २०७५ माघ १४ गते १७:१०     विकासन्युज


काठमाडौं । १ हप्तादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पर्वतारोहणमा जाने पर्यटकको सन्दर्भमा गलत सूचना प्रवाह गरेको भन्दै हेलिकप्टर सोसाईटी अफ नेपालले दुःख व्यक्त गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी हेलिकप्टर सोसाइटीले दुःख व्यक्त गरेको हो । पर्यटकलाई विमारी बनाई रकम असुल्नेदेखि फेक रेष्क्यू हुने सम्मको सूचना बजारमा आएको भन्दै सोसाईटीले पत्रकार सम्मेलनमा असन्तुष्टि पोख्यो ।

हिमालमा उद्धारको एक मात्र विकल्पको रुपमा रहेको हेलिकप्टरलाई समेत मुछेको भन्दै सोसाईटीले सिजन सुरु हुने बेलामा बेरोजगार हुने स्थितिको सिर्जना हुन लागेको बताएको छ । यसरी हेलिकप्टर अपरेटर, अस्पताल तथा ट्रेकिङ एजेन्सीलाई नै दोष लगाउनु जायज कुरा नभएको हेलिकप्टर सोसाईटीको बुझाई रहेको छ ।

हेलिकप्टर सोसाईटी अफ नेपालका अध्यक्ष रामेश्वर थापाका अनुसार–‘हामीलाई मान्छे बचाएको दिन गर्व हुन्छ, विदेशी पर्यटक हाम्रा पाहुना भएकाले तिनलाई समेत बचाउनु हाम्रो कर्तव्य हो ।’ विगतमा ६० हजार लाग्ने शुल्क हाल १० हजारमा झरेको र यो विषयमा धेरैलाई जानकारी नभएको थापाले जानकारी दिए ।

सोही सम्मेलनमा हेलिकप्टर सोसाइटीकका महासचिव योगराज कँडेल शर्माले भने–‘रेस्क्यूलाई उचाई, मौसम, प्रविधि लगायतका कुराले असर पार्छ, तसर्थ सबै रेस्क्यू एकै किसिमका हुन्नन्, तर हामीले रेस्क्यूको महत्व भने बुझ्न जरुरी छ ।’

अहिलेपनि नेपालमा हाई अल्टीच्यूड रेस्क्यू सम्बन्धी तालिम तथा उद्धार कार्य हुँदै आईरहेको छ । पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपतका विषयमा हेलिकप्टरका संस्थाहरुबाट नकारात्मक संलग्नता रहेको छैन । पर्यटक खोज उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि २०७५ आइसकेको छ । तर, अर्को सिजन सुरु हुने बेलामा विभिन्न शंका उत्पन्न गर्न खोजिएको भन्ने हेलिकप्टर सोसाईटीको तर्क रहेको छ ।

साथै, लान्छना लगाउँदा हेलिकप्टरको भूमिका ओझेलमा पर्छ । सरकार २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारीमा रहेको बेलमा गलत सूचना प्रवाह हुनुले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने सोसाईटीको दाबी छ । सरकारी तहबाट नीति बनाएमा त्यसको पालना गर्न आफूहरु तयार रहेको हेलिकप्टर सोसाईटीले जनाएको छ । धेरैजसो अवस्थामा बीमाका सन्दर्भमा समेत हेलिकप्टरमा समस्या रहेको बताइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.