कर्मचारीकाे पेन्सनमा २ अर्ब प्राेभिजन गर्नुपर्दा बैंकका सेयरधनीले लाभांश नपाउने भए- देवेन्द्रप्रताप शाह

  २०७५ माघ १२ गते १७:३१     विकासन्युज

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यकाल आगामी चैत ९ गते सकिंदैछ । कार्यसम्पादनका आधारमा नेपाल बैंकको ८२ वर्षको इतिहासमा देवेन्द्रप्रताप शाहको नाम स्मरणीय प्रमुख कार्यकारी अधिकृतको रुपमा रहने छन् । उनको कार्यकालमा बैंकको वित्तीय अवस्था उल्लेख्य सुधार आयो । तर जाँदाजाँदै उनको गाँसमा ढुंगा लागेको छ । यसवर्ष बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्था आएको छ । गत आर्थिक वर्ष नेपाल बैंकले सेयरधनीलाई वितरण योग्य नाफा २ अर्ब ९९ करोड रुपैयाँ आर्जन गरेको वित्तीय विवरण साउनमा सार्वजनिक भएको थियो । गतवर्ष बैंकले एफपीओ जारी गर्दा लगानीकर्तालाई नगद तथा बोनससहित ३२ प्रतिशतसम्म लाभांश दिने सकिने आश्वासनपनि बाँडेको थियो । तर, अहिले कर्मचारीको पेन्सन, उपदान लगायत रेगुलेटरी प्रोभिजन गर्नु परेको भन्दै सेयरधनीलाई लाभांश दिन नकिने भयो भनेर हात उठाउन थालेका छन् । यसपटक मात्र होइन, नेपाल बैंकले विगत २३ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको छैन । बैंकको नाफा अर्बौँमा देखिने, कर्मचारीले मालामाल कमाउने, तर सेयरधनी जहिलेपनि भोकै हुने अवस्था किन आयो ? विकासन्युजका लागि प्रधानसम्पादक रामकृष्ण पौडेलले शाहसँग गरेको विकास वहस यसपटक ।


नेपाल बैैंकले पुस मसान्तमा कति नाफा गर्यो ?

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक भएको छैन । पहिलो ड्राफ मेरो हातमा आएको छ । पुस मसान्तसम्ममा खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी हुन्छ । बैंकको नाफा संचित हुँदै गएको छ । सेयरधनीलाई लाभांश वितरण भएको छैन । त्यसैले क्यापिटल एडेक्वसी २३.९ प्रतिशत पुगेको छ । यो इन्डस्ट्री कै सबैभन्दा उच्च अंक हो । मेरो कार्यकालको शुरुवातमा बैंकको क्यापीटल एडेक्वसी ४.५८ रहेको थियो । म आएलगत्तै नेपाल राष्ट्र बैंकले पीसीए किन नलगाउने भनेर पत्र काटेका थियो । तीन वर्षअघि त्यो परिस्थितिबाट गुज्रिएको बैंक हो यो ।

के क्यापिटल एडेक्वसी धेरै भएर मात्र बैंक राम्रो हुने हो ? क्यापीटल एडेक्वसी ११ प्रतिशतभन्दा कम हुन राम्रो मानिदैन, तर १५ प्रतिशतभन्दा बढी क्यापिटल एडेक्वसी भयो भने बैंकले पूँजीको अनुपातमा व्यवसाय विस्तार गर्न नसकेको ठानिन्छ होइन ?

तपार्इँको प्रश्न केही हदसम्म ठीक हो । तर, विश्वमा कुनैपनि बैंक कति बलियो छ भनेर हेर्ने मुख्य आधार क्यापिटल एडेक्वसी नै हो । क्यापिटल एडेक्वसी बढी हुनु भनेको बैंकको जोखिम लिने क्षमता प्रशस्त छ भन्ने हो । बैंकको नाफा सेयरधनीलाई वितरण गरिएको थियो भने नाफा बाहिर जान्थ्यो, क्यापिटल एडेक्वसी कम हुन्थ्यो । तपाईँको भनाईमा म कहाँ सहमत छु भने नेपाल बैंकको व्यापार विस्तार अझ धेरै गर्न सकिन्छ । हामीलाई प्रशस्त निक्षेप संकलन गर्ने र कर्जा लगानी बढाउने ठाउँ छ । अहिले अन्तर बैंक कर्जामा हामीले राम्रो कमाईरहेका छौं । एफपीओको पैसापनि आयो । सरकारको पैसापनि आयो । अरु बैंकसँग पैसा छैन, हामीसँग छ । अन्तर बैंक ब्याजदर ६ प्रतिशत पुगेको छ । अहिले कमाई राम्रो छ ।

नेपाल बैंकको संचित तथा जगेडा कोषमा कति रकम छ ?

असोज मसान्तसम्ममा ११ अर्ब रुपैयाँ थियो । पुस मसान्तसम्मको नाफाले अब करिब १३ अर्ब रुपैैयाँ हुन्छ । नेपाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ करोड छ । जगेडा कोष समेत जोडेर कोर क्यापिटल २२ अर्ब रुपैयाँभन्दा बढी भईसक्यो । म यो बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर आउँदा बैंकको शेयर पूँजी ६ अर्ब ४७ करोड रुपैयाँ थियो । संचित तथा जगेडा कोष २ अर्ब ८५ करोडले ऋणात्मक थियो । त्यतिबेला कोर क्यापिटल करिव ३ अर्ब ६२ करोड मात्र थियो । अहिले कोर क्यापिटल २२ अर्ब पुग्यो । तपाईँ आफै भन्नुहोस् त कहाँबाट कहाँ पुग्यो ?

बैंकको वार्षिक साधारणसभा कहिले हुन्छ ?

फाल्गुण वा चैत्रमा होला, अहिले निश्चित भइसकेको छैन ।

तपाईँकै कार्यकालमा हुन्छ कि ?

मेरो कार्याकाल चैत ९ गतेसम्म सकिन्छ । साधारणसभा त्यसभन्दा अघि हुनपनि सक्छ, नहुनपनि सक्छ । प्रारम्भिक रिपोर्ट राष्ट्र बैंकले हेरेर पठाएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार हामी त्यसलाई अन्तिम रुप दिएर स्वीकृतिको लागि फेरि राष्ट्र बैंक पठाउँछौं । छिट्टै राष्ट्र बैंकबाट स्वीकृति भएर आयो भने मेरै कार्यकालमै साधारणसभा हुन्छ । कहिलेकहि राष्ट्र बैंकबाट स्वीकृत भएर आउन २ महिनाभन्दा बढी लागेको पनि उदाहरण छन् ।

कम्पनीहरुले पुस मसान्तसम्ममा साधारणसभा गरिसक्नुपर्ने नियम छ । नेपाल बैंकले किन साधारणसभा समयमा गर्न सक्दैन ?

सरकारको शेयर धेरै भएको कम्पनीमा साधारणसभा नाम मात्रको हुन्छ । साधारणसभाले लेखापरीक्षक नियुक्त गर्दैमा त्यसका काम गर्ने होइन । सैद्धान्तिक रुपमा साधारणसभाले लेखापरीक्षक नियुक्त गरेपनि व्यवहारिक रुपमा महालेखाले नियुक्त गर्छ ।

नियम अनुसार पुस मसान्तसम्ममा साधारणसभा गर्नुपर्ने हो । तर महालेखाले लेखापरीक्षक ढिलो पठाउँछ । सरकारको शेयर धेरै भएको कम्पनीमा साधारणसभा नाम मात्रको हुन्छ । साधारणसभाले लेखापरीक्षक नियुक्त गर्दैमा त्यसका काम गर्ने होइन । सैद्धान्तिक रुपमा साधारणसभाले लेखापरीक्षक नियुक्त गरेपनि व्यवहारिक रुपमा महालेखाले नियुक्त गर्छ । महालेखाले एक जना नियुक्त गरे हुने ठाउँमा तीन जना लेखापरीक्षक नियुक्त गरेर पठाएको छ । उनीहरुबीच समन्वय र समय मिलाउनै गाह्रो । त्यसैले ढिला भईराखेको छ । नेपाल बैंकको इतिहासमा कहिल्यै पनि पुस मसान्तभित्र साधारणसभा भएको छैन । तर, हामीले कम्पनी रजिष्टारसम्म वित्तीय विवरण बुझाइसक्यौ । कम्पनी रजिष्ट्ररबाट हुने जरिवानाबाट हामी मुक्त भईसकेका छौं । यसपाली नेपाल बैंकले २२ वर्षपछि सेयरधनीलाई लाभांश दिन लागेको छ । लाभांश दिने लागेको भनेपछि राष्ट्र बैंकले टप टु बटम सबै हेरिरहेको छ । त्यसले पनि ढिला हुन सक्छ ।

यसवर्ष नेपाल बैंकले शेयरधनीलाई लाभांश दिन्छ कि दिन्न ?

यो निकै महत्वपूर्ण प्रश्न हो । तर, यसको जवाफ मैले दिने होइन । सञ्चालक समिति, साधारणसभाले निर्णय गर्ने विषय भयो । म त कर्मचारी मात्र हो । लाभांश दिन्छ कि दिन्न भन्ने अधिकारी म होइन । बैंकले जति नाफा गरेपनि बोर्डले नाफा वितरण नगरौँ भन्न सक्छ । राष्ट्र बैंकमा हामी फाइनल रिपोर्ट पठाउँदै छौं ।

नेपाल बैंकको सबै नाफा प्रोभिजनमा सकियो, यसपालि पनि नेपाल बैंकको लगानीकर्ताको हात रित्तै हुने भयो भन्ने सुनिएको छ नि ?
राष्ट्र बैंकले नयाँ रेगुलेटरी रिजर्भ राख्न भनेको छ । त्यसमा करिव २ अर्ब जाने भयो । त्यसैले मैले बोलेको कुरा अन्तिम नहुन सक्छ । राष्ट्र बैंकले भनेअनुसार रेगुलेटरी रिर्जभमा पैसा राख्नै पर्ने भयो भने यसपाली लगानीकर्ताले लाभांश नपाउन पनि सक्छन् ।

रेगुलेटरी रिर्जभ भनेको के हो ?

एनएफआरएस सम्पत्तिको मूल्यका आधारमा बढ्ने नाफा वृद्धिसँगै केही प्रोभिजन पनि बढ्ने रहेछ । नेपाल बैंकको पेन्सन दायित्व पनि छ । पेन्सन दायित्वमा राखिएको रकम कम भयो भनेर राष्ट्र बैंकले भनिदियो । त्यसमा बढी प्रोभिजन गर्नुपर्यो । निजी क्षेत्रका बैंकहरुमा पेन्सन सुविधा छैन । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई अहिले मार परेको छ । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकोले नाफा र लाभांशमा अरुको चासो छैन । नेपाल बैंकलाई मात्र मार परेको छ ।

कति छन् पेन्सन खाने कर्मचारीहरु ?

कति छन् कति । मैले पनि सोध्नुपर्छ । ५१ सालपछि नियुक्त भएकाले पेन्सन पाउँदैनन् । त्यसअघि नियुक्त भएकाहरुलाई पेन्सन सुविधा छ । समस्या के पनि रहेछ भने ७ वर्षको पेन्सन एकमुष्ट लिएपछि केहीपनि लिन नपाईने नियम पहिला रहेछ । त्यहि नियमका आधारमा सात वर्षको एकमुष्ट पैसा लिएकाहरु पनि अहिले निरन्तर पेन्सन सुविधा चाहिन्छ भने अदालतमा मुद्दा लडिरहेका छन् । यहाँ यूनियन बलियो छ । ३० बर्षे नियम आएपछि हड्ताल भयो । त्यसमा सातवर्षपछि पनि पेन्सन लिन पाउने सुविधा थपिएछ । त्यसैको आधारमा पहिला ७ वर्षको रकम एकमुष्ट लिएर पेन्सन लिन्न भनेका पूर्वकर्मचारी पनि पेन्सन दाबी गरिरहेका छन् । उनीहरुले मुद्दा नै जित्लान जस्तो भयो । यहाँ कुरा गरी साध्य छैन ।

तपाईँले एफपीओ बिक्री गर्नु पूर्व पत्रकार सम्मेलन गरी ३२ प्रतिशतसम्म लाभांश दिन सकिन्छ भन्नु भएको थियो । अहिले लगानीकर्ताले केहीपनि नपाउने भए । नेपाल बैंक जस्तो संस्थाले यस्तो झूट प्रचार गरेर लगानीकर्तासँग पैसा उठाउने, यतिबेला आएर नाफा त सबै कर्मचारीको पेन्सनमा गयो भनेर भन्ने ?

यस वर्ष कम्तिमा ३ अर्ब ५० करोड नाफा गर्छ । अर्को वर्ष तलब बढ्दैन । पेन्सन दायित्व पनि बढ्दैन । रेगुलेटरी रिर्जभ फिर्ता हुनसक्छ । ३ अर्ब १६ करोड प्रिमियम छ । सेयरधनीलाई जति बाँडेपनि पुग्छ । अर्कोवर्ष सेयरधनीले बम्पर लाभांश पाउँछन् ।

पत्रकारहरु कुरै नबुझि प्रचार गर्छन् । सानो कुराको आधारमा आफ्नो धारणा बनाउँछन् । अरुलाई ठोकिहाल्छन् । नेपाली पत्रकारको नराम्रो प्रवृति हो । मैले त्यतिबेला जारी गरेको विज्ञप्तीमा अहिलेपनि सुरक्षित छ । त्यसमा ‘कम्पनीको गत आर्थिक वर्षको नाफा र एफपीओबाट आउने प्रिमियम सहित जोडेर ३२ प्रतिशतसम्म बोनस सेयर र नगद लाभांश दिन सकिने अवस्थामा पुग्छौं । कति लाभांश दिने भन्ने कुरा सञ्चालक समितिले उपयुक्त समयमा निर्णय गर्छ’ भनिएको छ । एफपीओ निष्काशन बन्द हुँदा साउन लाग्यो । त्यसैले एफपीओबाट आएको प्रिमियम यस वर्ष बाँढ्न नपाइने भयो । गत आर्थिक वर्षमा खुद नाफा ३ अर्ब २३ करोड रहेको थियो । त्यो पनि रेगुलेटरी रिर्जभमा गयो । यस वर्ष कम्तिमा ३ अर्ब ५० करोड नाफा गर्छ । अर्को वर्ष तलब बढ्दैन । पेन्सन दायित्व पनि बढ्दैन । रेगुलेटरी रिर्जभ फिर्ता हुनसक्छ । ३ अर्ब १६ करोड प्रिमियम छ । सेयरधनीलाई जति बाँडेपनि पुग्छ । अर्कोवर्ष सेयरधनीले बम्पर लाभांश पाउँछन् ।

वारेन वफेटले कर्मचारी बलियो भएको कम्पनीमा लगानीकर्ताले नाफा पाउन मुस्किल हुन्छ भनेका छन् । नेपाल बैंकमा ठ्याक्कै त्यहि भयो है ? नाफा धेरै देखिने, तर सबै नाफा कर्मचारीको तलब, पेन्सन, उपदान जाने ?

कुनै बेला यो बैंकको खराब कर्जा ५६ प्रतिशत पुगेको थियो । तीन वर्षअघि म आउँदा रिर्जभ एण्ड सरप्लस झण्डै तीन अर्ब ऋणात्मक थियो । अहिले बैंक राम्रो छ । बलियो छ । यो वर्ष लाभांश नहुन सक्छ, हुँदैन भनेको छैन मैले । तर अर्को वर्ष बम्पर हुन्छ । नियमअनुसार कर्मचारी दायित्व बढेको कुरा सत्य हो । त्यसैलाई आधार मानेर नेपाल बैंकले लगानीकर्तालाई केहीपनि नदिने भयो भनेर भन्न भएन । तीन वर्षअघि नेपाल बैंकको नाफा ५० करोड थियो । तीन वर्षपछि ३ अर्ब ५० करोड नाफा गर्ने बैंक भएको छ । तीन वर्षअघि कोर क्यापिटल ३ अर्ब भएको बैंक अहिले २२ अर्ब भएको छ । यति ठूलो छलाङ अरु कुन बैंकले मारेको छ ? मलाई देखाउनुहोस् त ।

तपाईँले विभिन्न संस्थामा रहेको शेयर बेच्नु भयो, जग्गा जमिन बेच्नुभयो । त्यसबाट आएको रकम नाफामा जोड्दै लैजानुभयो । पुराना कर्जा असुलीबाट राम्रो भयो । बैंकले कोर विजनेश गरेर मात्र यति धेरै कमाएको त होइन नि ?

व्यापार बढेर नै नाफा बढेको छ । वार्षिक नाफा ५० करोडबाट ३ अर्ब ५० करोड पुगेको सत्यलाई तपाईँले पनि स्वीकार गर्नुहुन्छ नि । पुस मसान्तको निक्षेप १ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । कर्जा लगानी ८५ अर्ब रुपैयाँ छ । शेयर, जग्गा बेचेको कुरा पनि उठाउनु भयो । त्यो त क्यापिटल एडेक्वसी ४ प्रतिशत भएको अवस्थामा राष्ट्र बैंकले पीसीए लगाउनबाट बैंकलाई जोगाउँन राष्ट्र बैंककै निर्देशन अनुसार, म आउनुभन्दा अघि बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार केही शेयर र जग्गा बेचिएको हो । त्यसबाट धेरै रकम आएको छैन । म आउनु पूर्व सञ्चालक समितिले बेच्ने निर्णय गरेको सबै सम्पत्ति पनि बेचिएको छैन ।

समग्रमा तपाईँको कार्यकाल प्रशंशायोग्य नै रह्यो । तर, तपाईँको कार्यकालमा शेयरधनीले लाभांश पाएनन् । कस्तो अनुभूति भईरहेको छ ?

तीन वर्षको अवधि थोरै हो । तर, तीन वर्षमा बैंक धेरै बलियो भयो । मेरो चौथो वर्षको मिहेनतबाट बैंकले राम्रो नाफा गर्दैछ । आगामी वर्ष शेयरधनीले राम्रो लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.