माधव नेपालको प्रश्नः काँग्रेसको आन्दोलन केका लागि ?

  २०७५ माघ १२ गते १४:२५     विकासन्युज

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उनले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले भने “केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ । अहिल्यै हतास हुनुपर्ने अवस्था छैन । चरणबद्ध आन्दोलनको बाटोमा नलागौँ ।” सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा प्रतिपक्षको पनि रचनात्मक भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

आफ्नो पार्टीको तल्लो तहसम्मको एकीकरण प्रक्रियामा ढिलाइ हुँदा कठिनाइ भएको पनि उल्लेख गर्दै नेता नेपालले भने,“निश्चित मापदण्ड, विधि र प्रक्रियानुसार एकता गरिनुपर्दछ । नभए सामूहिक नेतृत्वमा चल्ने कम्युनिष्ट पार्टीमा अराजकता हुन्छ ।” पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारितभएसँगै चिकित्सा क्षेत्रमा सुधार हुने बताए ।

अनशनरत डा. गोविन्द केसीले पनि राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाइ थियो । पार्टी एकता र वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनुपर्नेमा आफूहरूमा एकमत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.