सुबिसु क्यान इन्फोटेक २०१९ को तयारी पूरा, यस्ता छन् नयाँ स्किम

  २०७५ माघ १० गते १४:३८     विकासन्युज


काठमाडौँ । कम्प्युटर एशोसियशन नेपाल(क्यान महासंघ)ले यही माघ १५ गतेदेखि गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले विहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । माघ १५ गतेदेखि २० गतेसम्म ६ दिनसम्म क्यान इन्फोटेक सञ्चालन हुनेछ ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ नयाँ स्किमहरु ल्याएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रमलाई सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसियशन विथ ई सेवा नाम दिइएको क्यान महासंघका महासचिव रञ्जितकुमार पोदारले बताए ।

नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको आयोजकले बताए ।

मेलामा प्रत्येक ३-३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।

सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कूल १७५ वटा स्टल रहने छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र बिधार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट हुने क्यान महासंघका महासचिव पोदारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.