उर्जा मन्त्रीको प्रस्तावः बुढीगण्डकी आयोजनाको क्षमता घटाएर ९ सय मेगावाट बनाऔं

  २०७५ माघ १० गते १३:५४     विकासन्युज

काठमाडौँ । धादिङ र गोर्खा जिल्लाको सिमाना पर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउन उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बिहीवारको बैठकमा मन्त्री पुनले भने–बुढीगण्डकीको क्षमता १२ सयबाट ९ सय मेघावाट बनाउनु उपयुक्त हुन्छ ।

समितिको बैठकमा उर्जा मन्त्री पुनले आयोजनाको क्षमता घटाएर आरुघाट, आर्खेत र खहरे वस्ती जोगाउनु उपयुक्त हुने बताए । उर्जा मन्त्रीको प्रस्तावमा धादिङ जिल्लाका सांसद भूमि त्रिपाठीले समर्थन गरेका थिए । आयोजनाको क्षमता घटाएर ऐतिहासिक वस्ती जोगाउनु पर्ने उनको तर्क थियो ।

 

सो आयोजनाबाट ३८ सय परिवार विस्थापित हुने प्रतिवेदन तयार भएको छ । आयोजनाको ड्याम साइटमा पर्ने धादिङ जिल्लाको साविक सलाङ गाउँ विकास समिति र गोर्खा जिल्ला साविकको घ्याल्चोक गाविसका १ सय परिवारलाई यसैवर्ष भित्र पुनर्वास गराउने मन्त्री पुनले बताए ।

डिजेल, पेट्रोल र हवाई इन्धनको आयातमा प्रति लिटर पाँच रुपैंयाँका दरले असुलिएको रकमबाट पूर्वाधार कोषमा करिब २१ अर्ब जम्मा भैसकेको छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १७ अर्ब बजेट विनियोजन गरेको छ ।

समिति बैठकमा बुढीगण्डकी आयोजनाको क्षमता घटाउन मन्त्री पुनले प्रस्ताव गर्दा पूर्व उर्जामन्त्री राधा ज्ञवालीले भने सो आयोजनाको क्षमता घटाउने होइन बढाउनु पर्ने बताइन् । पूर्वमन्त्री ज्ञवालीले भनिन्सो- आयोजनामा रि–रेगुलेटिङ ड्याम बनाएर क्षमता बढाउनु उपयुक्त हुन्छ ।

आयोजनाको लागत २ खर्ब ७० अर्ब रुपैयाँ निर्धारण गरेर त्यसको ३५ प्रतिशत रकम सरकारले ब्यहोर्ने र बाँकी ५३ अर्ब ‘इक्विटी’ तथा १ खर्ब २३ अर्ब ऋण लिएर निर्माण गर्ने सरकारको तयारी छ ।

बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने सरकारको निर्णय छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.