महोत्तरीका उपभोक्ता बजारबाट तौल र गुणस्तरमा ठगिँदै

  २०७५ माघ १० गते १३:०४     विकासन्युज

काठमाडौं । महोत्तरीका उपभोक्ता बजारबाट खरिद गरेका वस्तुको तौलमा ठगिँदै गरेका छन् । जिल्लाका हाटबजार लगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् ।

खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । विशेषगरी दैनिक प्रयोजनका लागि किराना वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरिएको उपभोक्ताको गुनासो रहेको छ ।

बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका समान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको भङ्गाहा नगरपालिका–४ का गृहिणी ऐसा खातुनले बताए। साप्ताहिक हटियामा तरकारी बेच्न त ढुङ्गे ढक र परम्परागत तराजु नै वर्षौंदेखि प्रयोग हुँदै आएको खातुनको गुनासो छ । किनेर ल्याइएका खानेतेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु त राम्रो भनेर ल्याइने गरिए पनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् ।

जिल्लाका सबैजसो साप्ताहिक हाट बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक व्यापारीले प्रयोग गर्दा आफूहरु ठगिनु परेको आम उपभोक्ताको गुनासो रहेकाे छ । बजार र पसलमा नापतौल र वस्तुको गुणस्तर अनुगमन गर्ने खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीय तहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताको गुनासो छ ।

प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घ, संस्था र निकायको उदाशीनताले बजारमा बेथिति बढेको नेपाली काङ्ग्रेस बर्दिवास नगर समितिका सचिब युवराज पोखरेलको भनाई रहेको छ । यता बर्दिवास उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रमाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्यामा सम्पर्कमा नआएको जनाएको छ ।

प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरि कारवाही बढाइने सङ्घका महासचिव भवनाथ खतिवडाको भनाइ छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख नवीनकुमार देउजा बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर र नापतौलको अवस्थाबारे अनुगमन गरिँदै आइएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.