घाम लाग्दा धुलो, पानी पर्दा हिलो, यस्तो छ पर्यटकीय क्षेत्र ठमेलको दुर्दशा

  २०७५ माघ १० गते १२:५२     नबिन पोखरेल


काठमाडौं । सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडिरहेको छ । तर, राजधानीको मुटुमा पर्ने पर्यटकीय गन्तव्य ठमेलको अवस्था हेर्दा लाग्छ, देशका अरु भागको अवस्था कस्तो होला ? विदेशी पर्यटकको घुईँचो भइरहने ठमेल क्षेत्रमा तपाईँ घाम लागेका बेला पुग्नु भयो भने धुलोले बसिनसक्नु हुन्छ । पानी परेको बेला पुग्नु भयो भने हिलोले गइनसक्नु हुन्छ । ठमेल प्रवेश गर्ने क्षेत्रपाटी मात्र नभई केशर महलको परिसरमा समेत अव्यवस्थित छ । यत्रतत्र फोहरहरु फालिएका छन्, बाटो लथालिङ्ग छ ।

बुधबार राजधानी लगायत देशैभरी हल्का वर्षा भयो । घाम लाग्दा धुलाको कुइरिमण्डल हुने ठमेलमा हल्का वर्षा हुँदा समेत हिमाम्मे भएको पाइयो । हल्का वर्षा भइरहँदा पनि ठमेलमा पर्यटकहरु आवत जावत गरिरहेका थिए । ठमेलको नर्सिङ चोकमा फोहरहरु यत्रतत्र फालिएका थिए ।

ठमेल क्षेत्रका सडकमा खाल्टाखुल्डीहरु प्रशस्तै छन् । ती खाल्डाखुल्डीमा पानी जमेका थिए, यसकारण त्यहाँ चल्ने सवारी र पर्यटकहरुलाई आवागमनमा असर गरिरहेको छ । ठमेलका केही ठाउँमा फोहर फाल्न डस्टबीनहरु उपलब्ध छन् । तर, तिनको सदुपयोग भएको पाइदैन । मन्दिर अगाडि पनि फोहोर कै थुप्रो देखिन्छ ।

ठमेलको भगवतीस्थानमा विगत १० बर्षदेखि हस्तकला व्यवसाय गर्दै आएका नवलपरासीका विनोद पाण्डे भन्छन्–‘यो व्यक्तीको मात्र समस्या होईन, यो साझा समस्या हो । सोही कारणले यसमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।’ पाण्डेले यसमा व्यवसायीको समेत कमजोरी रहेको बताए ।

फोहर बाटोमा हिड्नेले भन्दापनि यही बस्ने मान्छेले फाल्ने हो । राती पसल सफा गरेर घर गएपनि बिहान बान्ता, दिशा, फोहर देखिन्छ-उनले भने । विभिन्न स्थानमा सिसि क्यामेरा राखेमा तथा रात्रीकालीन सुरक्षामा सम्बन्धित निकायको ध्यान पुगेमा यस्ता समस्यामा निकै हदसम्म कमी आउने पाण्डेको सुझाव छ ।

यस्तै, १६ बर्षदेखी मूर्ती लगायतका सामाग्रीहरु बेच्दै आएका सिन्धुपाल्चोकका राजेन्द्र गिरी भन्छन्-‘ नराम्रो होस्, फोहर होस् भन्ने कसैको रहर हुँदैन, तर हामी यही भोग्दै आएका छौं ।’ गिरीले आफ्नो पसलबाट धेरै फोहर ननिस्किने गरेपनि अरुले फालेका फोहरको दुर्गन्ध ठेमलमा व्याप्त रहेको बताए । विगतमा यो क्षेत्रको सरसफाईमा चासो देखाएपनि त्यसले निरन्तरता पाउने सकेन–उनले भने ।

ठमेलको गोल्खापखामा पश्मिना व्यवसाय गर्दै आएका उमर मज्जीद भन्छन्-‘सकेसम्म पर्यटकलाई फोहर देखाउनु हुँदैन, पसलबाट फोहर आउने गरेपनि कतै कुनाकानी तिर राख्नुपर्छ र सही तरिकाले व्यवस्थापन गर्न सक्नु पर्छ ।’

च्याक्सीबारी मार्गका अमित श्रेष्ठ भन्छन् –‘शनिबार माईकिङ् त हुन्छ, तर त्यसले अलि पुगेन, काम गर्दा साच्चै प्रभाव पर्ने किसिमले गर्नु आवश्यकता रहेको छ । विगत १६ बर्षदेखी ठमेलको काठमाडौँ गेस्ट हाउसको अगाडि आफूले खुकुरी व्यवसाय गर्दै आउँदा आफूले विभिन्न समस्या झेलेको बताए । फोहरको विषय हामीलाई सानो लाग्ने भएपनि पर्यटन व्यवसायमा यसले ठूलै असर पार्ने श्रेष्ठले दाबी गरे ।

ठमेलको यो दुदर्शका बारेमा स्थानीय सरकार अर्थात महानगरको वडा कार्यालय समेत जानकार नै छ । ठमेल क्षेत्रलाई सुन्दर बनाउन स्थानीय वासिन्दा, व्यवसायी, वडा कार्यालय र सामाजिक संघसंस्थाले सामुहिक रुपमा पहल गर्नु पर्ने स्थानीय व्यवसायीको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.