छ महिनामा १० अर्बको सामान आयात, २ अर्ब उठ्यो राजश्व

  २०७५ माघ ९ गते १८:२२     विकासन्युज

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महिनामा नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।

सामान आयातवापत करीब दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गएपनि निर्यात वृद्धि हुनसकेको छैन ।

चालु आवमा सबैभन्दा बढी असोज महीनामा रु ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको छ । यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए ।

आयातित समानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको छ । यो अवधिमा दुई अर्ब ५० करोडको डिजेल र ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ ।

त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै रु ३३ करोड ४८ लाख ६७ हजार मूल्यको आयात भएको छ । भन्सारमार्फत आयात हुने अन्य मुख्य १० वस्तुमा चामल, पापड, सुर्तीजन्य पदार्थ लगायतका छन् ।

चालु आवको हालसम्म ३९ करोड ५६ लाख छ हजार बराबरको मात्रै निर्यात भएको छ । निर्यात भएका प्रमुख वस्तुमा कत्था, खयर लगायत छन् ।

गत आर्थिक वर्षमा कार्यालयले तीन अर्ब ८७ करोड राजश्व सङ्लन गर्ने लक्ष्य राखेकोमा चार अर्ब २० करोड राजश्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षका लागि कार्यालयले पाँच अर्ब ३७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.