किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउँदै बाग्लुङ नगरपालिका

  २०७५ माघ ९ गते १४:५२     विकासन्युज

काठमाडौं । बाग्लुङ नगरपालिका स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउँने भएको छ । नगरपालिकाले ‘एक वडा :तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो ।

बाँझो र कम खोतीयोग्य जमीनमा चियाखेती शुरु भएको छ भने खेतीयोग्य जमीनमा नियमित उत्पादन हुने अन्न बराबर दुई वर्षसम्म अनुदान दिएर सुन्तला लगाउन थालिएको छ ।

‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर सुन्दर, समृद्ध र सांस्कृतिक बाग्लुङ नगर’ को नारा बोकेको सो नगरपालिकाले बजार क्षेत्रमा घर, बगैँचा र कौशी तरकारी कार्यक्रम पनि अघि बढाएको छ । एक रोपनी जग्गामा चार मुरी धान हुने अनुमानका आधारमा कृषकलाई सुन्तला लगाउन रु पाँच लाख अनुदान रकम बाँड्ने नीति नगरपालिकाले अख्तियार गरेको छ ।

गत आर्थिक वर्ष सुन्तला खेतीमा अनुदान पाउन कृषकले दिएको आवेदनका आधारमा ३० हजार सुन्तलाका बिरुवा वितरण गरिएको थियो । कम्तीमा दुई रोपनी जमीनमा सुन्तला लगाउनेलाई मात्र अनुदान दिइनेछ । वानपा–८ सिगानाका अनन्त खड्काले गणेश व्यावसायिक कृषि सहकारी संस्थामार्फत व्यावसायिक खेतीका लागि अनुदान लिएर काम थाल्ने तयारी गरेको नगरप्रमुख जनकराज पौडेल जानकारी दिएका छन् ।

नेपालमा चिया तथा कफीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सल्लाहमा चिया खेतीको परीक्षण गरिएको हो । “विज्ञहरुले हाम्रो जमीन, हावापानी र माटोको प्रकृति हेरेर चिया खेती गर्न सुझाएका बताउँदै यो वर्ष १० लाख रुपैयाँ बजेट व्यवस्था गरेर थप खेती विस्तारको तयारीमा लागेका नगरप्रमुख पौडेल जानकारी दिएका छन् ।

चालीस हजार बिरुवाले उत्पादन दिन थालेपछि प्रशोधन केन्द्र स्थापना गर्ने योजना नगरपालिकाको छ ।

अहिले लगाइएका बिरुवाले तीन वर्षमा उत्पादन दिन थाल्ने र आगामी पाँच वर्षभित्र व्यावसायिक उत्पादन थालिका छन् । समुद्र सतहबाट १ हजार ७ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा रहेको उक्त ठाँउमा परीक्षण उत्पादन थालेर व्यावसायिक उत्पादनको तयारी गरि चिया तथा कफी विकास बोर्डसँग सहकार्य गरि नगरपालिका अगाडी बढाएको छ ।

किसानलाई व्यावसायिक उत्पादनसँग जोडर आत्मनिर्भर बनाउने प्रयासमा गरिरहेको बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए ।

नेपालको अर्थोडक्स चिया युरोपेली र अमेरिकी मुलुकहरुका साथै अस्ट्रेलियामा लोकप्रिय रहेको छ ।

सन् १८६२ मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहार स्वरूप पाएको चियाको बिरूवा इलामको इलाम चिया बगानमा रोपेपछि नेपालमा चिया खेती प्रारम्भ भएको मानिन्छ ।

कुल २९ हजार ३६० जनसङ्ख्या रहेको सो नगरपालिकामा ७ हजार ४८ घरधुरी रहेका छन् । नगरपालिका १९ दशमलव २३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नगरपालिका क्षेत्र समुद्री सतहबाट ८०५ देखि दुई हजार ५० मिटरसम्मको उचाइमा अवस्थित छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.