मेगा नीतिः रणनीतिक साझेदार र आक्रामक बजार विस्तार

  २०७५ माघ ६ गते २१:११     मञ्जरी पौडेल

काठमाडौं । मेगा बैंकले विदेशी लगानीकर्तालाई रणनीतिक साँझेदारका रुपमा भित्र्याउने र आक्रामक बजार विस्तारको रणनीति अघि सारेको छ । बैंकले रणनीतिक साँझेदार मार्फत पुँजी, प्रबिधि भित्र्याउने र आक्रामक बजार विस्तार गर्ने योजना बनाएको हो । पञ्च वर्षीय योजनाको दोश्रो वर्षमा कुदिरहेको बैंकले तीन वर्ष पछि ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य तय गरेको छ ।

गत आर्थिक वर्ष अर्थात २०७४/७५ मा बैंकको नाफा एक अर्ब ३१ करोड रुपैयाँ नाघेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत बढी हो । अघिल्लो वर्ष २०७३/०७४ मा बैंकले ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्नो नाफा १४४ प्रतिशतले वृद्धि गरी ३ अर्ब २० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड ४५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९४ प्रतिशत बढी हो । गत असाेज मसान्तसम्म बैंकको कूल निक्षेप ६६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा ६२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

रणनीतिक योजनाको अवधिमा बैंकले ऋण र निक्षेपलाई २००/२०० प्रतिशत बढाएर २८ वाणिज्य बैंकमध्ये १५औँ स्थान ओगट्ने लक्ष्य लिएको छ ।

मेगाले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेर २०७५ बैशाख ३० गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो । टुरिजमलाई गाभेपछि बैंकको व्यवसायको आकार, पुँजीगत आधार, शाखा सञ्जाल, ग्राहक संख्या र प्रतिस्पर्धी क्षमतामा वृद्धि भएको छ ।

त्यसका साथै, २८ वाणिज्य बैंकमध्ये पुँजीका आधारमा मेगा दोश्रो ठूलो बैंक हो । त्यस्तै, बैंकले व्यवसाय र मुनाफामा उच्च वृद्धि हासिल गरेको छ । एनपीएल(गैर प्रदर्शनकारी ऋण) एक प्रतिशतको हाराहारीमा रहेको छ ।

पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य पुरा गर्न कम्पनीले दर्जनौँ चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । निरन्तर बढीरहेको कष्ट अफ फण्ड, घटिरहेको प्रतिसेयर आम्दानी र प्रतिसेयर लाभांश, गैर ब्याज आयको न्यूनता जस्ता चुनौती बैंक सामू छन् ।

बैंकले लगानी योग्य पुँजीको अभाव, ब्यादरमा भइरहेको तीव्र प्रतिष्पर्धाको चुनौतीलाई पनि चिर्नु पर्ने छ । छोटो समयको नाफालाई निरन्तरता दिँदै बैंकले कम्पनीको दिगो वृद्धिलाई बढी जोड दिनुपर्ने देखिन्छ ।

बैंकले व्यापार प्रवद्र्धनमा विशेष जोड दिँदै एनपीएको समुचित व्यवस्थापन गरी कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार परियोजना लगायतका क्षेत्रहरुमा थप लगानी गर्ने योजना बनाएको छ । “हलो देखि हाइड्रोसम्म”को नारामार्फत २०६६ सालमा स्थापना भएको बैंकले उर्जा र पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको छ । फाईभ स्टार बैंकिङ्को अवधारणामा आएको बैंकमा महिला प्रमुख कार्यकारी अधिकृतले नेतृत्व गरिरहेकी छिन् । बैंकले महिला मात्रै कर्मचारी रहेको शाखा सञ्चालन गरिरहेको छ ।

सामाजिक उत्तरदायित्वमा पनि बैंकले आफूलाई अब्बल साबित गर्दै आइरहेको छ । बैंकले शिक्षा क्षेत्रलाई विशेष जोड दिँदै “गर्ल चाइल्ड एजुकेसन” नामक कार्यक्रम संचालन गर्दै छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक शाखाबाट एक/एक जना नारीलाई निःशुल्क शिक्षा प्रदान गर्ने योजना बनाएको छ । १०२ वटा शाखा रहेको बैंकले १०२ जना चेलीहरुलाई १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा महिलाहरुको स्तन क्यान्सरको चेक जाँच तथा निःशुल्क स्वास्थ्य उपचार, आँखा शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने छ । यस्ता कार्यक्रमहरु मार्फत बैंकले नागरिकसँगको सम्बन्धलाई सुमधुर बनाई व्यवसाय विस्तारमा समेत जोड्ने प्रयास गरिहेको देखिन्छ ।

बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि र सुशासनका लागि “मेगा लर्निङ्ग” सेन्टर सञ्चालन गर्दै छ । सेन्टरको माध्यमबाट कर्मचारीलाई तालिम, सेमिनार, अन्तर्क्रियामा सहभागि गराएर गुणस्तरीय सेवा प्रदान गर्ने प्रकृया अघि बढाएको छ ।

दीर्घकालिन लगानी बढाउँदै

बैंकले आफ्नो लगानीलाई दीर्घकालिन प्रकृतिका क्षेत्रमा समेत विस्तार गरिरहेको छ । रेमिट्यान्स कम्पनी, ब्रोकर कम्पनी र मर्चेन्ट बैंकिङमा हात हालिसकेको छ । बैंकले मेगा रेमिटको सञ्जाललाई विदेशमा समेत विस्तार गर्दै व्यवसायमा विविधिकरण गर्दै जाने बताएको छ । बैंकले सेयर ब्रोकर कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । बैंकले “मेगा सेयर क्यापिटल” नामको मर्चेन्ट बैंकिङ कम्पनी खोल्ने प्रक्रिया पनि अघि बढाएको छ । २० करोड चुक्ता पुँजीको कम्पनीले बैंकको आम्दानीको दायरा बढाउने अपेक्षा गरिएको छ ।

रोजगारीका अवसरहरु सृजना गर्ने उत्पादनमूलक व्यवसाय र क्षेत्रहरुमा लगानी वृद्धि गर्ने बैंकको नीति रहेको छ । साथै, नेपाल सरकारको राष्ट्रिय ढुकुटीलाई मजबुत बनाउन सुशासन र कर भुक्तानीमा थप योगदान दिने कम्पनीले बताएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थातर्फ मेगाले सबैभन्दा बढी कर तिरेको थियो ।

बैंकले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सम्पत्तिको रुपमा लिई मानव संसाधनको शीप, दक्षता एवं नेतृत्व सक्षमता बढाउने कृयाकलापहरुलाई उच्च प्राथमिकता राखेको छ । बैंकले “मेगा संस्कृति” नामक नयाँ कार्यक्रम संचालन गर्दै छ । जसले कर्मचारीहरुमा संस्थाप्रतिको अपनत्वको भावना, मूल्य र मान्यतालाई अनुसरण गर्ने वातावरण सृजना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.