४ अर्बको आईपीओ अनुमति पर्खाइमा, ३ अर्बको बिक्री हुँदै

  २०७५ माघ ६ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाली शेयर बजारमा तत्काल ७ अर्ब भन्दा बढीको आईपीओ निष्कासन हुने भएको छ । साधारणसभाबाट आईपीओ प्रस्ताव पास गरि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका र धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृति पाएका समेत गरी उक्त परिमाणमा साधारण शेयर आउन लागेको हो ।

नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीका ४ अर्ब भन्दा बढीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका उक्त कम्पनीमध्ये १५ ओटा हाइड्रोपावर कम्पनी, ५ ओटा लघुवित्त र एउटा मर्चेन्ट बैंकरको एउटा कम्पनी छन् ।

त्यसमध्ये ३ अर्ब ९५ करोड ९८ लाख रुपैंया बराबरको हाइड्रपावरको शेयर छ भने १८ करोड १६ लाख बराबरको माइक्रोफाइनान्सको शेयर छ । पहिलोपटक आइपीओ जारी गर्न लागेको सीआईबीएल क्यापिटलको ३ करोड बराबरको आईपीओ पनि सेबोनको पाइपलाइनमै छ ।

त्यस्तै बोर्डबाट आईपीओका लागि अन्तिम स्वीकृति प्राप्त गरी निष्काशनको चरणमा समेत ३ अर्ब बराबरका शेयर रहेका छन् । शिवम् पावरको १ अर्ब २५ करोड ४९ लाख बराबरका १ करोड २५ लाख ४९ हजार कित्ता शेयर बिक्री हुँदै गर्दा ग्रीनलाइफ हाइड्रोपावर र आशा लघुवित्त आईपीओका लागि आह्वानपत्र प्रकाशन गर्ने तयारीमा जुटेका छन् । शिवम् र ग्रीनलाइफको शेयर भने स्थानीयवासीका लागि निष्कासन गरिएको हो भने आशा लघुवित्तको आईपीओ सर्वसाधारणको लागि बिक्री हुन लागेको हो ।

रुरु र स्पर्श अघि बढे

रुरु हाइड्रोपावर र स्पर्श लघुवित्तको आइपीओ निष्काशन प्रक्रिया एक चरण अघि बढेको छ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा प्रारम्भिक रिभ्युको चरणमा रहेका ती कम्पनीहरुलाई धितोपत्र बोर्डले स्वीकृत गरी बाँकी कागजात पेश गर्न सम्बन्धित कम्पनीलाई पत्र पठाएको छ । बोर्डले मागेका कागजात कम्पनीले उपलब्ध गराउनेबित्तिकै थप प्रक्रिया अघि बढ्नेछ ।

बजारमा नयाँ नयाँ क्षेत्रहरु थपिँदै

दोस्रो बजामा शेयर कारोबारका लागि नयाँ नयाँ क्षेत्र थपिने क्रममा छन् । चालु आर्थिक वर्षमा शिवम् सिमेन्टले सिमेन्ट क्षेत्रमै पहिलोपटक आईपीओ निष्कासन अनुमति पाउँदा अन्य क्षेत्रहरु पनि दोस्रो बजारमा आउन आकर्षित देखिएका छन् ।

हालै मात्र आईएमई ग्रुपको प्रमुख शेयर स्वामित्व भएको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोम र केवलकार सेवा प्रदायक कम्पनी चन्द्रागिरि हिल्सले पनि आईपीओ जारी गर्ने तयारीमा अघि बढेका छन् । चन्द्रागिरिले १५ करोडको आईपीओ निष्काशन प्रस्ताव साधारणसभाबाट पारित गरी बोर्डमा आईपीओ निष्कासनको अनुमतिका लागि निवेदन दिने प्रक्रियामा छ भने डिसहोमले आफ्नो प्राइभेट कम्पनी संरचनालाई पब्लिकमा रुपान्तरण गरी आगामी वर्षसम्ममा १० प्रतिशत आईपीओ बिक्री गर्ने लक्ष्य लिएको छ ।

उक्त आईपीओहरु नेप्सेमा सूचिकृत भएसँगै वित्तीय क्षेत्र केन्द्रित शेयर बजारमा नयाँ आयाम थपिने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.