फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ, र्‍याफ्टिङको आकर्षण, कलाकारसँगै झुम्दै दर्शक

  २०७५ माघ ६ गते १२:३३     विकासन्युज

काठमाडौं । सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अवलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज काफ्ले, डिजराज पौडेल, टीका प्रसाइ, लेखराज गुरुंग, हास्यकलाकार दिनेश काफ्ले महोत्सवका आकर्षण रहे । त्यस्तै लोकगायिका प्रिया भण्डारी, बुद्ध राई, रणबहादुर तामाङ, ज्योती मगरलायतले सबैलाई झुमाएका छन् ।

महोत्सवमा लोपोन्मुख लौरो जुधाउने खेलले सबैलाई आकर्षित गरिरहेको छ । पूराना लौरो खेलाडीले महोत्सवमा आफ्नो कला देखाउँछन् । लौरो आत्मरक्षा र आक्रमण गर्ने खेल हो । महोत्सवमा मगर, गुरुंगलगायतका जातजातीका भेषभुषासमेत प्रदर्शन हुँदै आएको छ । महोत्सवमा व्यावसायिकसहित १२० स्टल रहेको महोत्सव संयोजक तथा फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिए ।

फिक्कल महोत्सवको आकर्षण सिन्धुली कलाघर

फिक्कल महोत्सव घुम्न जानेहरुका लागि आकर्षणको केन्द्र बनेको छ सिन्धुली कलाघर । यसको डिजाइनर हुन् कलाकार सुमन आइडू । सिन्धुलीमा लोप हुन लागेका नेपाली मौलीक संस्कृति झल्कने सबै सामग्री कलाघरमा देख्न पाइन्छ । प्रगतिशिल प्रतिभा केन्द्रका कलाकारले तयार गरेको कलाघर महोत्सव स्थलभित्रको छुट्टै संसार हो । महोत्सवमा टिकट काटेर प्रवेश गर्ने अबलोकनकर्ताले यस कलाघरमा प्रवेश गर्न छुट्टै टिकट काट्नु पर्छ । कलाघर पस्नासाथ घरको भित्ताभरि देखिन्छ कलाकारले बनाएका कलाकृति । ऐतिहासिक सिन्धुलीगढीदेखि सिन्धुलीगढीलाई चिनाउने कलाकार कृष्णविक्रम थापासम्मका मुहारचित्र भित्तामा सजिएका छन् । कलाघरभित्र लडिरहेको रुखलाई समेत अजंगको राक्षस कलाकृतिको रुप दिइएको छ । रुखमुनि सजिएका छन् अर्का कलाकार विश्वम्भर लामिछानेले सिर्जना गरेका जर्बुट्टा कला । त्यसपछि नेपाली मौलिक भेषभुषामा सजिएका महिलापुरुषको डमी कलाघरको प्रांगणमा छन् ।

मकैका झुत्ताहरु झुण्ड्याइएको घरमा लोपुन्मुख बाजाहरु बैंजडी, मुजुरा, ट्याम्को, दमाहा, मादल, मुरली, सारंगीलगायत राखिएका छन् । त्यस्तै सिन्धुली रोदीघरका छानाभरि फर्सी सजाइएको छ । मकैका झुत्ताहरु राखिएको घरको पीँढीमा ढिकी, जाँतो, माना पाथी, ठेकी, मदानी, पेरुंगो, डालो नांग्लो, गुन्द्री, पीरा, चटाइ आदि लोपन्मुख सामग्रीहरु सजाइएका छन् । कलाघर भित्र हलोजुवा, नारा, लगायतका सामग्रीसमेत राखिएको छ । यसै कलाघरमा सिन्धुलीका अधिकांश साहित्यकारहरुले प्रकाशन गरेका कृतिहरुसमेत छन् । कलाघरपरिसरमै भूकम्पमा ढलेको धरहराको प्रतीक बनाएर राखिएको छ । त्यस्तै फिक्कलको टावरलाई सम्झाउने बाँसको टावरसमेत कलाकारहरुले बनाएका छन् । यस टावरमा चढेर महोत्सव स्थललाई नियाल्न सकिन्छ । बिर्सिदै गएको नेपाली मौलिक संस्कृति, परंपरागत सामग्रीबारे नयाँ युवा पुस्ताजाई जानकारी गराउन फिक्कल महोत्सवमा सिन्धुली कलाघर निर्माण गरिएको कलाकार सुमन आइडूले बताए ।

फिक्कलको सौन्दर्य कलाकारितामा, कलाकारले बनाए २३ चित्रकला

फिक्कलको पर्यटकीय प्रबर्धन गर्न आयोजित फिक्कल महोत्सवमा कला शिविरसमेत आयोजना गरिएको छ । शिविरमा काठमाडौंबाट गएका कलाकारहरुले फिक्कल डाँडा र महोत्सव स्थल खाङसाङमा कला सिर्जना गरेका थिए । फिक्कल डाँडाबाट ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खला देख्न सकिन्छ । कलाकारहरुले त्यहाँबाट देखिने हिमश्रृङ्खला, स्थानीय जनजीवन, सुनकोशीको र्याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल, पहाड, तराइको चित्र कोरेका थिए । फिक्कल गाउँपालिकाले आयोजना गरेको कला शिविरमा छ जना कलाकार सहभागी थिए । शिविरको संयोजन पत्रकार दीपक श्रेष्ठले गरेका थिए । शिविरमा कलाकारहरु अंशुराम खाइजु, मंगल प्रजापती, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्का सहभागी थिए । उनीहरुले तयार गरेका २३ थान चित्रकलाको फिक्कल महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो ।

महोत्सवकी संयोजक पार्वती सुनुवारले चित्रकलामार्फत पर्यटन प्रवर्धन कला शिविर आयोजना गरिएको जानकारी दिइन् । उनले महोत्सवमा चित्रकलाको छुट्टै स्टल राखिएको बताइन् ।

कलाकारहरु कला सिर्जना गर्न फिक्कलको डाँडामै केही दिन बसेका थिए । कलाकार सुरेम देशारले फिक्कलको चुचुरोबाट देखिने हिमश्रृङ्खला र तराइको समथर फाँटको दृष्यले आफूहरुलाई मोहित बनाएको बताए । उनका अनुसार कलाकारहरुले पूर्वपश्चिम फैलिएको हिमश्रृङ्खलाको प्यानोरोमिक भ्युमा धेरै वटा जोडेर एउटै बनाउन मिल्ने चित्रकला बनाएका छन् ।

महोत्सवमा प्याराग्लाइडिङको आकर्षण

फिक्कलको प्रबर्धन गर्न महोत्सवमा प्याराग्लाइडिङ उडानसमेत भइरहेको छ । ओखलढुङ्गाको टोड्के डाँडोबाट उडान भइरहेको छ । ट्याक्टर चढेर पुगिने उक्त स्थलबाट उडेको प्याराग्लाइडिङ खाङसाङस्थित सुनकोशी किनारमा अबतरण गर्छ । उडानको अवधि २० मिनेटको हुन्छ । महोत्सव स्थलमा प्याराग्लाइडिङ गर्ने यात्रु अबतरण गर्दा अबलोकनकर्ताहरु हेर्न झुम्मिएका थिए । प्याराग्लाइडिङ गर्दा नागबेली परेको सुनकोशी, मध्यपहाडी राजमार्ग, कोशीको खोँच र फिक्कल डाँडावरपरको दृष्य निकै मनमोहक देखिएको कलाकार दीनेश काफ्लेले बताए । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का दिलकुमार सुनुवारले फ्लाई हिमालयन प्याराग्लाइडिङ कम्पनीमार्फत पर्यटकलाई आकाशमा उडाउँदै आएका छन् ।उनलेयस क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको बताए ।

सुनकोशीमा र्‍याफ्टिङ

महोत्सव स्थल सुनकोशीको किनारमा छ । त्यहाँ महोत्सवका अबसरमा ‘र्‍याफ्टिङ’ समेत संचालन गरिएको छ । महोत्सवमा खाङसाङदेखि १ घण्टाको दुरीसम्म जलयात्रको आनन्द लिन पाइन्छ । पहिलो जलयात्रामा पत्रकारहरुसँगै सांसद गणेश पहाडीसमेत सहभागी थिए । उनले जलयात्रालाई ब्यवसायिक रुपमा अगाडि बढाउन लागिएको बताए । जलयात्रका क्रममा पानी हाँस, जलेवालगायतका बथान भेटिएका थिए । सुनकोशी नदीमा र्याफ्टिङको प्रचुर संभावना छ । भोटेकोशीदेखि सप्तकोशीसम्म रमाइलो गर्दै जलयात्रा गर्न सकिने जलयात्रा पथप्रदर्शक खुम रानामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.