४ बीमा कम्पनीको स्थलगत अनुगमन सकियो, संस्थागत सुशासन र सम्पति शुद्धीकरण चुनौती

  २०७५ माघ ६ गते ११:१८     विकासन्युज

काठमाडौं । बीमा समितिले ४ वटा बीमा कम्पनीहरुको स्थलगत अनुगमन गरेको छ । समितिले एसियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र प्रभु जनरल इन्स्योरेन्स कम्पनीको स्थलगत अनगमन सम्पन्न गरेको हो । ‘हामीले ४ वटा कम्पनीको स्थलगत अनुगमन सम्पन्न गरेका छौं, देखिएका कैफियतका आधारमा सुधार र कारवाहीको प्रक्रिया अघि बढाउँछौं’, बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

समितिले भदौ महिनाबाट बीमा कम्पनीहरुको स्थलगत अनुगमन सुरु गरेको थियो । आर्थिक बर्षको ६ महिना सकिँदा जम्मा ४ वटा कम्पनीको मात्रै अनुगमन भएको छ । हाल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा गरि ४० बीमा कम्पनी सञ्चालनमा छन् । अब ६ महिना भन्दा छोटो अवधीमै ३६ वटा कम्पनीहरुको स्थलगत अनुगमन गर्नुपर्नेछ । ‘यसपालीदेखि सबै कम्पनीको स्थलगत अनुगमन गर्ने योजना छ, केहि जनशक्ति थपेका छौं, अब चाँडो चाँडो अनुगमन गर्छाै’, निमित्त कार्यकारी निर्देशक पौडेलले भने ।
समितिले गत आर्थिक बर्षदेखि बीमा कम्पनीहरुकाले स्थलगत अनुगमन थालेको थियो । यसपाली भने सबै कम्पनीको अनुगमन गर्ने योजना बनाएको छ ।

समितिले बीमा कम्पनीको जोखिमाङकन(अण्डर राइटिङ), पुनर्बीमा, बीमा लेख, लेखा, मानव संसोधन, नीती नियम पालन गरे÷नगरेको, सम्पति सुद्धिकरण निवारण, बीमा दर, व्यवस्थापन खर्च र संस्थागत सुशासन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरिरहेको छ ।
पछिल्लो समय बीमा क्षेत्रमा सम्पति सुद्धिकरण र संस्थागत सुशासनमा चुनौती थपिएको बताईँदै आएको छ । सम्पति सुद्धिकरणलाई न्युनीकरण गर्नकै लागि समितिले सम्पति सुद्धिकरण विभागसँग सम्झौता गरेर सिंगल प्रिमियमका बीमालेखहरुको सुक्ष्म अध्ययन थालेको छ ।
त्यस्तै, संस्थागत सुशासनका लागि प्रमुख कार्यकारी अधिकृतहरुका लागि कुलिङ पिरियड, विदेश भ्रमणमा कडाई, अभिकर्ताहरुलाई विदेश भ्रमणमा रोक लगायतको निर्णय गरिसकेको छ । ‘स्थलगत अनुगमनका क्रममा संस्थागत सुशासन र सम्पद्धि सुद्धिकरणका केहि समस्या देखिएका छन्, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं’, अनुगमनका सहभागी एक कर्मचारीले भने ।

चार वटा कम्पनीको स्थलगत अनुगमन प्रतिवेदन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईसम्म पुगिसकेको छ । ‘कैफियतका आधारमा सचेत गर्ने, जरिवाना गर्ने वा अन्य कारवाही गर्नेबारे अध्यक्षले आफैंले अथवा सञ्चालक समिति मार्फत थप कारवाही गर्न सकिन्छ’, निमित्त कार्यकारी निर्देशक पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.