बलियो आधार बनेको छ, युनाइटेड इन्स्योरेन्सले अब गति लिन्छ : रमेशकुमार भट्टराई

२०७५ माघ ६ गते ८:१६ विकासन्युज

रमेश भट्टराई युनाइटेड इन्स्योरेन्स लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । गत बैशाखमा नायव महाप्रवन्धको रुपमा यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा प्रवेश गर्नु भएको भट्टराईले कार्यभार सम्हालेको ३ महिनामै उक्त जिम्मेवारी पाउनुभएको हो । त्यसो त, उहा“को बीमा करियरको सुरुवात पनि सन् १९९९ मा सोही कम्पनीबाट भएको हो । बीमा क्षेत्रमा करिब २० बर्षको अनुभव स“गाल्नुभएका भट्टराईले शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।
२६ वर्ष अघि स्थापना भएको र ठूला व्यवसायिक घरानाले चलाएको यो कम्पनीका परिसूचकहरु आज कमजोर छन् ? बीमा समितिले यसै आर्थिक वर्षसम्म न्युनतम १ अर्ब रुपैयाँ पुँजी हुनुपर्छ भनेको छ तर यो कम्पनी किन ३० करोड रुपैयाँ लगानीमा चलिरहेको छ ? कामु सीईओ भएको ७ महिनामा भट्टराईले कम्पनीमा के परिवर्तन गर्नुभयो ? कम्पनीको भावी योजना के के छन् ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित भई  विकासन्यूज डटकमका लागि शंकर अर्यालले कामु सीईओ भट्टराईसँग गरेको विकास बहस ।


युनाइटेड इन्स्योरेन्स अहिले २६ वर्षमा चलिरहेको छ, कम्पनीको प्रोमोटरहरु पनि उच्च प्रोफाइलका छन्, तर कम्पनीचाहीँ जुनकुनै हिसाबले पनि कमजोर छ, यस्तो किन भयो ?

युनाइटेड इन्स्योरेन्स कम्पनी २०५० सालमा स्थापना भएको हो । वास्तवमा भन्ने हो भने जनरल इन्स्योरेन्स सेवा मात्र सञ्चालन गर्ने निजी क्षेत्रको यो नै सबैभन्दा पुरानो स्वदेशी कम्पनी हो ।

तपाईँले भन्नु भए जस्तै यस कम्पनीमा चौधरी ग्रुप, एनबी ग्रुप, विजयबहादुर श्रेष्ठ, शशीकान्त अग्रवाल जस्ता चर्चित ग्रुप र उच्च प्रोफाइलका प्रोमोटर र सञ्चालकहरु छन् । त्यतिमात्र होइन, अहिले जनरल इन्स्योरेन्सको बजारमा सफल र चर्चित भएका अनुहारहरु पनि धेरैजसो यही कम्पनीका उत्पादनहरु छन् । म आफैं पनि यही कम्पनीको प्रोडक्ट हुँ । सन् १९९९ मा यहाँबाट करियर सुरुवात गरेको मैले जनरल इन्स्योरेन्स क्षेत्रबारे जे सिकेँ, जे जानेँ त्यो यहीँबाटै सम्भव भएको हो ।

यद्यपि व्यवसायको आकार, वासलात र अन्य पक्षहरुबाट पनि यो कम्पनी कमजोर भएको कुरा सत्य हो । कम्पनीको इतिहासको हिसाबले हेर्ने हो भने अहिले यो कम्पनी बीमा बजारमा नेतृत्वदायी भूमिकाका रहनुपथ्र्यो तर सकिएन, यसका केही कारणहरु छन् ।

वास्तवमा हाम्रो कम्पनीको सबैभन्दा कमजोरीको पक्ष भनेकै जनशक्ति व्यवस्थापन रहन गयो । २६ बर्षको दौरानमा कम्पनीले १२ जना प्रमुख कार्यकारीहरुलाई फेरिए । सरदरमा एक जना प्रमुख कार्यकारी अधिकृत औसतमा २ वर्ष मात्र रहेको देखिन्छ ।

अर्को कुरा, पछिल्ला कार्यकालहरुमा आएका प्रमुख कार्यकारीहरुले संस्थाको वृद्धि र विकासका लागि ठोस् भूमिका खेल्न सकेनन् । त्यसको कारण एउटा बीमासम्बन्धी ज्ञानको कमी हो । कार्यकारीहरु नै क्षमतावान नहुँदा यसले तल्ला तहका कर्मचारीहरुको समेत वृत्ति विकासमा अवरोध पुग्न थाल्यो, त्यसैले राम्रा कर्मचारीहरुले धमाधम जागिर छाड्न थाले । यसले बीमाको आधारभूत संरचना नै तहसनहस बनाइदिएको रहेछ ।

तर अब पुरानो अवस्था रहँदैन, यहाँ म आएको करिब ७ महिनामात्र भएको छ । यसबीचमा मैले यही बुझेर नै जनशक्तिको व्यवस्थापन र वृत्ति विकासमा ध्यान दिएको छु । म आउँदा खाली रहेका महत्वपूर्ण व्यवस्थापकीय पदहरुमा उपयुक्त र सक्षम व्यवस्थापकहरु नियुक्त गरेको छु ।

अहिले कम्पनी कमजोर भयो भन्दैगर्दा दुई विकल्प सोच्नुपर्छ, एउटा एक्विजिसनमा गएर अरुलाई सुम्पिने र अर्को आक्रामक रुपमा अघि बढ्ने । पहिलो विकल्प अहिलेको लागि आउटडेटेड भइसक्यो । त्यसैले अहिलेको अवस्थामा दोस्रो विकल्प नै निर्विकल्प हो । त्यसैले अब कम्पनी पूर्ण क्षमतामा चल्छ ।

तपाईँले त कम्पनीको एउटा मात्रै समस्या बताउनुभयो, के ‘राइट म्यान, राइट प्लेस’ नहुनु मात्रै कम्पनीको दुर्भाग्य हो त ?

मुख्य रुपमा त्यही हो । यसअघिका कार्यकारी प्रमुखहरु जो एकातर्फ बीमा क्षेत्रको उपयुक्त ज्ञान नभएका थिए भने दोस्रो व्यक्तिगत स्वार्थलाई संस्थागत स्वार्थभन्दा माथि राख्ने खालका थिए । उनीहरुका कारण नै कम्पनीको दुर्गति भएको हो । म अहिले कसैको नाम लिन चाहन्न तर बजारले बुझेको छ, कम्पनीमा कसको भूमिका के भयो भनेर । अब विगत त फर्केर आउँदैन । तपाईँ यसमा पनि विश्वस्त हुनुस्, अब विगतको नियति पनि फर्केर आउँदैन ।

बजारमा राम्रो छवि बनाएका व्यक्तिहरु पनि यस कम्पनीको सीईओ भएका थिए । तर उनीहरुले किन राम्रो गर्न सकेनन् ?

हो, सुरुसुरुमा राम्रा मान्छेहरु पनि आए । त्यसबेला कम्पनीको अवस्था पनि राम्रो थियो । राम्रा मान्छेको राम्रो योगदानलाई पनि हामीले भुल्नु हुँदैन । तर एउटा मान्छेको योगदान सँधैंभरि हुन सक्दैन, राम्रो मान्छेले बर्षौं लगाएर आर्जन गरेको ख्यातीलाई नराम्राले एकैछिनमा रित्याइदिन सक्छन् । त्यसैले सक्षम व्यवस्थापन निरन्तर कायम रहिरहन नसक्नु नै कम्पनीको दुर्भाग्य भयो ।

अहिलेको बजारले २० ओटा कम्पनी धान्नसक्ने अवस्थामा छ भन्ने मलाई लाग्दैन । अहिले नेपालको निर्जीवन बीमा व्यवसायको आकार भनेको २१०० करोड मात्रै हो । औसत १ अर्बको कारोबार गरेर एउटा बीमा व्यवसाय कसरी चल्न सक्छ । त्यसैले बीमा कम्पनीहरुमा पनि मर्जरको आवश्यकता छ । तर क्रसहोल्डिङको समस्याले हामीले साझेदार नपाएको कुरा सत्य हो । एउटा व्यक्तिले एउटा कम्पनी बाहेक अरुमा संस्थापक शेयर होल्ड गर्न नपाउने नियम लगाइदिने हो भने एक वर्षभित्र अधिकांश कम्पनीहरु मर्जरमा जान्छन् ।

संस्थामा कसले कस्तो कमजोरी गर्यो, त्यो बताइदिनुस् न ?

कोही जनशक्ति व्यवस्थापनमा कमजोर थिए होलान्, कोही नयाँ प्रोडक्टहरु ल्याउने मामिलामा चुके होलान्, कसैले राम्रो मार्केटिङ गर्न सकेनन् होला, कसैले दाबी भुक्तानीका सम्बन्धमा कमजोरी गरे होलान् । त्यस्ता गल्ती र कमजोरीहरु कति जानीजानी भए होलान्, कति अन्जानमा भए होलान् । तर म यहाँनिर कसैको नाम लिन चाहन्न ।

अहिले कम्पनीको अवस्था कस्तो छ ?

अहिले संस्थाका सूचकहरु कमजोर अवस्थामा छन् । वास्तवमा वित्तीय सूचक भनेको सवल व्यवस्थापन र संस्थागत प्रगतिको ऐना हो । यद्यपि त्यस्ता सूचकहरुले केही समय अघिको अवस्थालाई चित्रित गर्छ । पहिले संस्थाको आन्तरिक अवस्था कमजोर थियो, त्यसैले आजको दिनमा सूचकहरु कमजोर देखिएका हुन् ।

तर म आएपछि व्यवस्थापकीय रुपमा संस्थाले राम्रो प्रगति हासिल गरिसकेको छ । मैले संस्थाका कर्मचारीहरुमा विश्वास र उत्प्रेरणा जगाउने काम गरेको छु । हाम्रोजस्तो सेवामुखी क्षेत्रको सफलताको पहिलो आधार भनेकै कर्मचारी व्यवस्थापन हो । उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारी दिएको छु । रिक्त स्थानहरुमा नयाँ जनशक्तिहरु रिक्रुमेन्ट गरेको छु । त्यसले निकट भविष्यमा वित्तीय सूचकहरुमा समेत सकारात्मक प्रभाव पार्नेमा म विश्वस्त छु ।

तर अहिले पनि कम्पनी कामु कार्यकारी प्रमुखकै भरमा चलेको छ, माफ गर्नुहोला, तपाईँ आफैँ कामु सीईओ हुनुहुन्छ । पूर्णकालीन सीईओ किन नियुक्त नगरेको ?

यो त बोर्डकै विषय भयो । तर म कामु नै भए पनि बोर्डले मलाई पूर्णकालीन सीईओ बराबरकै अधिकार दिएको छ । मैले पनि कामु छु भनेर कम ‘डेडिकेटेड’ भएर काम गरेको छैन । मेरो इन्स्योरेन्स करियको प्रारम्भ नै यहाँबाट भएकोले पनि मलाई यो कम्पनीप्रति पूर्ण समर्पण र माया छ । मैले यसको सुधारका लागि हरसम्भव प्रयास गरिरहेकै छु र त्यसमा सफलता पनि पाइरहेको छु भन्ने लाग्छ ।

तपाईँ यहाँ आउनुभएको ६ महिना नाघ्यो । पहिले र अहिलेको अवस्थामा ठोस् सुधार चाहिँ के आयो ?

म आउँदा संस्थाको अवस्था जर्जर थियो । मार्केटिङ विभाग प्रमुखविहीन थियो । अन्डरराइटिङ विभाग प्रमुख पनि जागिर छोड्ने तयारीमा हुनुहुँदो रहेछ, उहाँ पनि जानुभयो । पुनर्बीमा विभाग पनि खाली थियो । मलाई त कहिलेकाँही चलचित्रको कहानी जस्तो लाग्छ । अहिले मेरो विश्वासमा सबै विभागीय प्रमुखहरुलाई ल्याएको छु । अहिले मसहित मार्केटिङ, आरआई, अन्डरराइटिङ, मार्केटिङ विभागहरुमा नयाँ नियुक्ति गरिएको छ । उहाँहरु अनुभवी र सक्षम हुनुहुन्छ ।

पहिलेका विभागीय प्रमुखहरु चाहिँ तपाईँ आएपछि गए कि पहिले नै गएका थिए ? साथै, उनीहरु किन गए ?

केहीले पहिलेको व्यवस्थापनसँग असन्तुष्ट भएर पहिले नै जागिर छोड्भएको थियो । म आएलगत्तै बजारमा तीनओटा नयाँ कम्पनीहरुले कारोबार सञ्चालन सुरु गर्ने तयारी गरे । त्यसैले पछि केही साथीहरु वाहिर गए ।

हामीले पनि धेरैचोटी समाचार लेख्यौं, युनाइटेड इन्स्योरेन्समा कर्मचारीको पहिरो लाग्यो भनेर । वास्तवमा कर्मचारीहरु टिक्नै नसक्ने समस्या चाहिँ किन भएको रहेछ ?

मैले अघि पनि भनेँ, हाम्रोजस्तो सेवामुखी संस्थाको मुख्य आधार भनेकै कर्मचारीहरु हुन् । त्यसो भन्दैमा यो क्रिकेट खेलेजस्तो पनि होइन, ब्याट्सम्यान चम्कँदैमा खेल जितिने । वास्तवमा टिमवर्कले मात्र कुनै पनि सेवामुखी संस्थालाई सफल बनाउन सक्छ । यहाँ त्यही नभएको हो । टिमवर्कको स्पिरिटमा उच्च तहको व्यवस्थापनले उपयुक्त रुपमा ह्यान्डिलिङ गर्न नसक्नु नै त्यसको कारण हो भन्ने लाग्छ ।

हामीसँग अहिले २९ ओटा शाखाहरु छन् । तपाईँले भन्नुभएजस्तै कुनै शाखाहरुमा त असिस्टेन्ट लेभलका कर्मचारीले बिहान अफिस खोल्ने र बेलुकी बन्द गर्ने तर दिउँसो कोही नहुने अवस्था पनि आएको रहेछ । म आएपछि त्यस्तो क्रम निकै कम भएको छ । अहिले हामीसँग १७५ जना कर्मचारी छन् । शाखाहरुको आवश्यकता र सिफारिस अनुसार कर्मचारीहरु थप गर्दै जान्छौं ।

अब अलिकति प्रसंग बदलौं, युनाइटेड इन्स्योरेन्सको पुँजी अझै पनि ३० करोड मात्रै छ, बीमा समितिले समय थप गर्दा पनि चुक्ता पुँजी पुर्याउने समय अब ६ महिना मात्र बाँकी छ, कहिले पुर्याउनुहुन्छ १ अर्ब पुँजी ?

मर्जरको लागि हामीले प्रयास गरेका थियौं तर यो बेमौसमी रहेछ । अब हामी मर्जरमा नजाने भएका छौं । हामीले पहिले १० प्रतिशत बोनस शेयर र त्यसपछि शतप्रतिशत हकप्रद शेयर दिने भनेका थियौं, तर हाम्रो रिजर्भमा वितरणयोग्य रकम नभएको भनेर बीमा समितिले त्यसलाई रोकिदियो । अबको अवस्थामा हाम्रो पुँजी पुर्याउने विकल्प भनेको हकप्रद शेयर जारी गर्ने नै हो ।

अब विशेष साधारणसभा डाकेर २४० प्रतिशत हकप्रद प्रस्ताव पारित गराउँछौं । पहिले पनि हामीले त्यो प्रस्ताव लगेका थियौं । तर अग्निबीमा रोकिएको अवस्थामा बीमा समितिले स्वीकृति दिन मानेन । तर अहिले अग्नि बीमा खुलिसकेको छ । अब समितिले त्यस्तो स्वीकृति दिने बाटो समेत खुलेको छ । अव हामीलाई कुनै समस्या छैन ।

युनाइटेड इन्स्योरेन्सप्रति बीमा समिति अलिकति अनुदार देखियो, यसको कारण प्रोमोटरसँग सम्बन्धित मुद्दा पनि एउटा हो भनिन्छ । नियाकमसँग त्यस्तो असमझदारीको अवस्था चाहिँ किन देखियो ?

होइन, बीमा समिति हामीप्रति कहिले पनि अनुदार भएको मैले पाइँन । बोनस र हकप्रद रोकिनुमा हाम्रो नै केही कमजोरी भए । सीटीस्काईलाई दिनुपर्ने दाबीको पुनर्बीमा नआएकोले हामीले धेरै रकम छुट्याउनुपर्ने भयो । त्यसैले हाम्रो रिजर्भ नकारात्मक हुन गयो । त्यस्तो अवस्थामा रोकिएको बोनसलाई हामीले बीमा समिति पूर्वाग्रही भएको मान्नु हुँदैन । अग्नि बीमा रोकिँदा हकप्रदको स्वीकृति नदिनु पनि ठीकै हो । अबको दिनमा त्यस्तो समस्या छैन । समितिले पनि हामीलाई त्यसैअनुसार व्यवहार गर्छ ।

सीटीस्काईले दाबी गरेको रकम कति हो ? पुनर्बीमा दाबी गरिएको कति रकम प्राप्त भयोे ?

हामीले सीटीस्क्यापलाई तिर्नुपर्ने ५४ करोड थियो । पुनर्बीमाबाट ४४ करोड आउनुपर्ने थियो । पहिले आएको थिएन, अहिले सबै रकम आइसक्यो । त्यो पैसा यो बर्षको नाफामा जोडिएर आउँछ ।

युनाइटेड इन्स्योरेन्सको शेयर पहिले १७/१८ सय रुपैंया पुगेको थियो, अहिले ६/७ सयमा झरेको छ । कम्पनीको कारणले त साना लगानीकर्ताले करोडौं गुमाउनु पर्यो होइन ?

हो । तर त्यसमा कम्पनी मात्रै दोषी छैन । कतिपय गिरावट बजारै कारणले पनि भएका हुनसक्छन् । केही कारण हाम्रो आन्तरिक पनि हुन सक्छ । तर बाह्य तत्वहरुलाई त हामीले रोक्न सक्दैनौं, तर आन्तरिक पक्षहरुलाई भने सबल बनाउँदै जाने हो ।

मलाई लाग्छ संस्था टिक्न पहिलो कर्मचारीको कम्पनीप्रतिको भरोसा चाहिन्छ, जसबारे मैले पहिले नै भनिसकेँ । दोस्रो, ग्राहकहरुको कम्पनीप्रतिको विश्वास चाहिन्छ । ताकि यो कम्पनीमार्फत् इन्स्योरेन्स गर्दा समस्या पर्दा सहज रुपमा भुक्तानी पाइन्छ भन्ने विश्वास होस् ।

तेस्रो भनेको लगानीकर्ताको पक्ष हो । यो कम्पनीमा लगानी गर्दा उचित प्रतिफल पाउँछु भन्ने विश्वास दिलाउँनुपर्छ । त्यसको लागि म लागिरहेको छु ।

त्यसको वस्तुगत आधार चाहिँ के छ ?

म आउँदा दाबी भुक्तानीको पेन्डिङ फाइल १९०० भन्दा बढी थियो, यो १५५० को हाराहारीमा झरिसकेको छ । यसबीचमा हामीले साढे १२ करोडको दाबी भुक्तानी दिएका छौ ।

हामीले अहिले ‘दाबी ठाम्को ठाम्, युनाइटेड इन्स्योरेन्समै जाम्’ भन्ने प्रोडक्ट लिएर आएका छौं । यसले घटनास्थलमै गएर दाबी भुक्तानी दिने व्यवस्था गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी भनेको अल्पकालीन प्रकृतिको व्यवसाय हो । हामीले विश्वास जित्न सक्यौं भने पुरानै स्ट्रेन्थमा फर्किन हामीलाई कुनै गाह्रो हुँदैन । अबको जमानामा मार्केटिङले ल्याउने भनेको विजिनेस होइन, सूचना मात्र हो । विजिनेस लिन त कम्पनी नै जानुपर्छ र विश्वास दिलाउनुपर्छ । अहिले हामी यस्ता आन्तरिक पक्षहरुमा निकै सबल र प्रतिस्पर्धी भइसकेका छौं, यसको नतिजा तेस्रो चौमास देखिको रिपोर्टमा देखिन थाल्छ ।

तपाईँको कार्यकालमा कम्पनीलाई कुन स्तरमा पुर्याउनुहुन्छ ?

मैले अहिले शाखाको पुनर्संरचना, नयाँ ग्रोडक्ट र दाबी भुक्तानी जस्ता पक्षहरु सबल बनाउँदै जाने सोच बनाएको छु र त्यसका लागि आवश्यक कर्मचारी व्यवस्थापन पनि गरिसकेको छु । मैले यही अवस्थामा स्वतन्त्र रुपमा काम गर्न पाएँ भने एक वर्षभित्रै कम्पनीलाई सबल र प्रतिस्पर्धी अवस्थामा पुर्याउन म सफल हुन्छु भन्ने मलाई विश्वास छ ।

त्यसका लागि मसँग ठोस् आधार पनि छ । बीमा बजारमै चर्चित व्यवस्थापकले मैले कम्पनी भरेको छु । दिवस तिमिल्सिना अन्डरराइटिङ प्रमुख भएर आउनुभएको छ, विष्णु सुवेदी मार्केटिङ विभाग प्रमुख हुनुहुन्छ, प्रशान्त न्यौपाने दाबी भुक्तानीमा लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ । अब हामी पुँजी पुर्याएर आउँछौं र टिमवर्कमार्फत् कम्पनीलाई पूर्ण क्षमतामा चलाउछौं । १ बर्षभित्रै कम्पनीलाई निर्जीवन बीमा कम्पनीमध्ये हरेक हिसाबले ७/८ नम्बरमा आउनसक्ने वातावरण बन्छ । हामी विशेष साधारणसभामा जाँदैछौं । एनएफआरएस प्रणालीका कारण वार्षिक साधारणसभामा ढिलाई हुने भएकोले विशेषसाधारणसभामा जाना लागेका हौं । त्यसले हकप्रद पारित गरेसँगै प्रक्रियामा जान्छ । पुँजी पुगेपछि बजारमा एउटा छुट््टै किसिमको विश्वास र तरंग आउँछ त्यसपछि कम्पनीले गति लिन्छ ।

मर्जरको अवधारणा ‘आउटडेटेड’ भयो भन्नुभयो, कसरी ?

होइन, अहिलेको अवस्थामा तपाईँ हेर्नुहुन्छ भने धेरैजसो कम्पनीका मुख्य मालिकहरु एउटै छन् । जीवनबीमा र निर्जीवन बीमा दुवै कम्पनीमा यस्तो समस्या उस्तै छ । क्रसहोल्डिङको यस्तो समस्याले गर्दा बीमा क्षेत्रमा मर्जर नीति अघि बढ्न नसकेको हो । अहिलेको बजारले २० ओटा कम्पनी धान्नसक्ने अवस्थामा छ भन्ने मलाई लाग्दैन । अहिले नेपालको निर्जीवन बीमा व्यवसायको आकार भनेको २१०० करोड मात्रै हो ।

औसत १ अर्बको कारोबार गरेर एउटा बीमा व्यवसाय कसरी चल्न सक्छ । त्यसैले बीमा कम्पनीहरुमा पनि मर्जरको आवश्यकता छ । तर क्रसहोल्डिङको समस्याले हामीले साझेदार नपाएको कुरा सत्य हो । एउटा व्यक्तिले एउटा कम्पनी बाहेक अरुमा संस्थापक शेयर होल्ड गर्न नपाउने नियम लगाइदिने हो भने एक वर्षभित्र अधिकांश कम्पनीहरु मर्जरमा जान्छन् ।

अलिकति समष्टिगत कुरा गरौं, निर्जीवन बीमा क्षेत्रमा अहिले भएका मुख्य समस्याहरु के के हुन् ?

जुनकुनै विषयमा पनि समस्या भइहाल्छ, हाम्रो क्षेत्रमा पनि गलत मनसायले बीमा गर्ने, दाबी भुक्तानी लिन खोज्ने समस्याहरु छन् ।कतिपयले समय जानीजानी दुर्घटना गराइदिने, हुँदै नभएको दाबी माग्ने, नक्कली घाइते बनाएर र नक्कली बिल बनाएर दाबी गर्ने जस्ता कामहरु हुने गर्दछन् । त्यस्तो अवस्थामा समस्यासँग भाग्ने नभई त्योसँग जुध्नु नै बुद्धिमत्तापूर्ण निर्णय हो ।

यसबीचमा बीमा समिति गरेका दुई निर्णयहरुले त्यस्तो समस्या रोक्न ठूलो सहयोग गर्यो । पहिलो प्रोमोटरको व्यवसाय सम्बन्धित बीमा कम्पनीले गर्न नपाउने निर्णय जसले उच्च तहका व्यवस्थापकहरुको ठूलो समस्या हल भयो र दोस्रो नगद प्रिमियम प्राप्त नभई बीमा पोलिसी कायम भएको नमानिने, जसले मार्केटिङका कर्मचारीहरुको समस्या समाधान भयो । त्यसैले केही नीतिगत र केही व्यवहारिक रुपमा सचेत भएर समस्या समाधानको पहल हुँदै जानुपर्छ ।