ठमेलमा रमाउन छाडे विदेशी पर्यटक, ‘माग्ने र सारङ्गी बजाउनेले चौपट पारे व्यवसाय’

  २०७५ माघ ४ गते १६:४७     नबिन पोखरेल


काठमाडौं । नेपाल घुम्न आउने ९० प्रतिशत पर्यटकको पाईला ठमेलमा पर्ने गर्छ । ठमेल आफैंमा पर्यटकीय गन्तव्य भएकाले उनीहरु बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलमा विदेशी पर्यटकको ईच्छा विपरित सारंगी बजाउने, माग्ने तथा सामान जबरजस्ती किन्न बाध्य बनाउने गरिन्छ । यस्ता क्रियाकलापले पर्यटक आकर्षणमा असर गरिरहेको छ ।

ठमेल क्षेत्रमा विदेशी पाहुनाले भोग्दै आएको समस्याकाबारे बुझ्न ‘विकासन्यूज’ का प्रतिनिधि ठमेल पुग्दा पर्यटकहरुलाई सारङ्ग बजाउने र माग्नेहरुले दुःख दिइरहेको दृश्य देखियो । केशर पुस्तकालयबाट ठमेल प्रवेश गरेको केही बेरमा नै यस्ता दृश्य सामान्य जस्ता लाग्न थाले । ठमेलको नरसिंह चोक नपुग्दै एक जना व्यापारीले हातमा केही खेलौना बोकेर पर्यटक पछ्याई रहेका थिए । ठमेलमा पर्यटकले सामान छान्नु त परको केहीपनि किन्न ईच्छा नरहेको संकेत गरे ।

पर्यटकलाई माग्ने तथा सारंगीवालाले दिएको दुःख हेरिसकेपछि दैनिक झोलामा रुद्राक्ष बोकेर पर्यटक पछयाउने काभे्रका सीताराम गौतम र अन्य व्यापारीसँग केही जानकारी लियौँ । गौतमका अनुसार-‘काभ्रे कोशीपारीको स्थायी बासिन्दा भएरपनि विगत १५ बर्षदेखि सडकमा रुद्राक्ष बेच्नु मेरो बाध्यता हो ।’ विदेशी पर्यटकको ईच्छा विपरित नै सामान लाद्नु राम्रो कुरा नभएपनि यो उनको छाक टार्ने मुख्य बाटो रहेको बताए । उनले कुनै निश्चित ठाउँमा बसेर व्यापार गर्न पाए निकै सहज हुने उनले तर्क गरे ।

पर्यटक मात्र होइन ठमेल क्षेत्रका व्यवसायी पनि उस्तै हैरानी खेपिरहेका छन् । नरसिंह चोकका थान्का व्यापारी विष्णु श्रेष्ठ भन्छन्–‘पर्यटकले आफूले इच्छा गरेको सामान छानेर लिन पाउन पर्छ, छान्ने बेलामा बाजा बजाउने र माग्ने प्रवृती ठमेल क्षेत्रका व्यवसायीहरुलाई असर गरिरहेका छ । सबैले गरिखान पाउनु पर्ने भन्दै उनले सडकबाट पसलसम्म पछ्याउने जमातलाई एक निश्चत ठाउँ तोक्न सकेमा मात्र राम्रो हुनेमा जोड दिए ।

ठमेलको सात घुम्तीमा व्यापारी हरिशरण भट्टसँग भट्यौँ । उनी भन्छन्– ‘विदेशीलाई दिक्क लाग्ने काम हामीले रोक्न सक्नुपर्छ नत्र यसले ठमेल क्षेत्रको पर्यटक आकर्षण घटाउने छ ।’ सात महिनाको व्यापारिक अनुभव सुनाउदै भट्टले आगामी दिनमा यस्ता समस्याबाट छुटकारा पाएमा सबैलाई राम्रो हुने र विशेषतः पर्यटकलाई पनि थप आनन्द मिल्ने बताए ।

ठमेलको भगवतीस्थानमा रहेको सल, पस्मीना व्यवसाय गर्दै आएका मिर जविड अस्मद भन्छन्–‘शुरुमा पर्यटक नेपाल आउँदा खुशी नै रहन्छन, तर माग्ने कुराले भने उनीहरुमा नराम्रो असर समेत पार्ने गरेको हुन्छ ।’ पयर्यटकलाई चाहिने सरसफाई ठमेलमा रहेपनि उनीहरुलाई पछ्याउँदै माग्ने प्रवृती भने पटक्कै राम्रो नभएको अस्मदले बताए ।

ठमेलमा आउने पर्यटकले भोग्दै आएका समस्याका विषयमा ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलका अध्यक्ष समीर गुरुङ भन्छन्–‘पर्यटकलाई दुःख दिएको भन्दापनि गन्दर्वले आफ्नो काम गरेका हुन्, तर उनीहरुको व्यवस्थापन गर्नु भने आश्यक छ ।’ आगामी दिनमा यस्ता समस्या हटाउन काउन्सिल लागी परेको उनको दाबी छ ।

आगामी दिनमा गन्धर्वको पोशाक व्यवस्था गर्ने तथा ठमेलमा आउने पर्यटकलाई मागेर दुःख नदिने वातावरण सिर्जना गर्न सबै जना लाग्नु पर्ने काउन्सिलका अध्यक्ष गुरुङको धारणा रहेको छ ।

के भन्छन् त विदेशी पर्यटक ?
‘नेपाल घुम्न पाएकोमा म निकै खुसी छु , अझ केही कुरामा मेहनत गरेमा नेपाल धेरै राम्रो देखिन्छ’–ठमेलमा भेटिएका एक पर्यटक पेरिस नागरिक लौरियन्टले भने । उनले आफू नेपाल आएको केही दिन मात्र भएको बताए । लौरियन्टले भने–बाटोमा माग्दै हिड्नेहरुले पर्यटकहरुलाई दुःख दिएको गुनासो गरे ।

जर्मनीबाट २० दिन अघि नेपाल झरेका र ठमेलमा भेटिएका अर्का विदेशी पर्यटक रोबिन भन्छन्–‘ठमेलमा माग्दै हिँड्ने तथा सडक व्यापार गर्ने धेरै छन्, त्यसरी गरी खानेले पर्यटकको जीवनमा खासै असर त नगर्लान्, तर उनीहरुको त्यो गतिविधिले एक किसिमको नराम्रो दृश्य पर्यटकको मनमा अवश्य गड्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.