झापामा बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना, कृषकमा राहत

  २०७५ माघ ४ गते १६:१०     विकासन्युज

काठमाडौं । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् ।

महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहुँको गुणस्तरीय बीउ प्रशोधन तथा उत्पादन गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकले राहत पाएका हुन् ।

केन्द्रको आफ्नै तीन बिघा १४ कठ्ठा जमीनमा १३ हजार टन बीउ भण्डारण क्षमता भएको गोदाम घरसहित प्रशोधनका लागि आवश्यक आधुनिक उपकरण रहेका छन् । ती उपकरण जोड्न सहकारीसँगै स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको समेत सहयोग भएको जनाइएको छ ।

व्यवस्थापक विष्टका अनुसार उक्त केन्द्रबाट झापा, मोरङ, सुनसरी, इलाम लगायत १ नम्बर प्रदेशका सबै जिल्ला र २ नम्बर प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा समेत बीउ निर्यात हुँदै आएको छ । गतवर्ष २०७४/७५ मा १३ जातका ३९० टन धानको बीउ प्रशोधन भएकोमा चालू आर्थिक वर्षमा यो बढाएर कम्तिमा पनि ६०० टन पुर्याउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।


यसैगरी गतवर्ष ५२ टन चार जातको गहुँको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष ११० टन पुर्याउने लक्ष्य लिइएको महारानी झोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी भण्डारीले जानकारी दिएका छन् ।

गत वर्ष १७ टन जयघाँसको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष २१ टन, मकैको बीउ गतवर्ष तीन टन उत्पादन गरेकोमा यो वर्ष १० टन, गतवर्ष १ टन तोरीको बीउ उत्पादन गरेकोमा यो वर्ष २ टन र यो वर्ष २ टन राजमाको बीउ उत्पादन तयारी रहेको पनि भण्डारीको भनाई रहेको छ ।

सामूहिक सहकारी खेती तथा सदस्य कृषकले उत्पादन गरेको बीउलाई नै प्रशोधन पनि गरिदै आएको सहकारी संस्थाका अध्यक्ष मीना ढकालको भनाई रहेको छ । कृषकले बजार मूल्यभन्दा कम्तिमा रु १० देखि रु ६०० सम्म बढी मूल्य दिने उत्पादन धान, मकै, गहुँ, जै घाँस केन्द्र आफैँले खरीद गरी दिने गरेकाले किसान खेतीमा आकर्षित भएको ढकालले बताए।

पछिल्ला वर्ष उक्त सहकारीले सञ्चालन गरेको गतिविधिको प्रचारप्रसार भएपछि देशैभरिका सहकारी संस्था दिनहुँ जसो अवलोकन गर्न आउने क्रम बढेको संस्थाले जनाएको छ । गौरा दहलाई सरकारले कृषि पर्यटन क्षेत्रका रुपमा घोषणा गरेपछि त्यसलाई कार्यान्वयन गर्न सहकारी प्रतिबद्ध भई जुटेको अध्यक्ष ढकालको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.