कृषि तथा पशुपंक्षी व्यवसायमा सहुलियत ब्याजमा ऋण लिने बढे, १४ अर्ब लगानी

२०७५ माघ ४ गते १५:४३ विकासन्युज


काठमाडौँ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले ब्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट ७५ करोड ८२ लाख बराबरको ब्याज अनुदान प्रदान गरिएको छ ।

यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।

गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् । रासस