पुस महिनामा बैंकहरुकाे निक्षेप तथा कर्जा वृद्धि ‘सन्तुलित’, विगतको गल्ती सुधार्दै वाणिज्य बैंकहरु

  २०७५ माघ ३ गते ११:४५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको पुस महिनाको निक्षेप तथा कर्जाको वृद्धि सन्तुलित देखिएको छ । पुस महिना वाणिज्य बैंकहरुले ३० अर्ब निक्षेप संकलन गर्दा ३० अर्ब बराबर नै कर्जा प्रवाह गरेका हुन् । उक्त अवधिमा बैंकहरुले नेपाली मुद्रामा ३५ अर्ब निक्षेप संकलन गरि ३१ अर्ब कर्जा प्रवाह गरे पनि विदेशी मुद्रामा हुने निक्षेप तथा कर्जामा गिरावट आउँदा उक्त कुल निक्षेप र कर्जाको वृद्धिदर घट्न पुगेको हो । उक्त अवधिमा वाणिज्य बैंकहरुले विदेशी मुद्रामा लिने निक्षेप ४ अर्बले घटेको छ भो कर्जा प्रवाह समेत बैंकहरुले १ अर्बले घटाएका छन् ।

मंसिर महिनाको अन्त्यसम्ममा वाणिज्य बैंकहरुले नेपाली मुद्रामा हुने निक्षेप संकलन २४ खर्ब ३६ अर्बबाट २५ अर्ब ५४ करोड पुर्याउँदा कर्जा प्रवाह २१ खर्ब ८३ अर्बबाट २२ खर्ब ७८ अर्ब पुगेको छ । उक्त अवधिमा विदेशी मुद्रामा हुने निक्षेप संकलन ८७ अर्बबाट ९६ अर्ब पुग्दा ऋण प्रवाह ६२ अर्बबाट बढेर ६६ अर्ब पुगेको छ ।

त्यस्तै सोही अवधिमा २५ खर्ब १९ अर्ब रुपैंया बराबरको आन्तरिक मुद्रामा ऋण प्रवाह गरेका थिए । पुस महिनाको अन्त्यमा यो आकार २५ खर्ब ५४ अर्ब पुगेको छ । सो अवधिमा बैंकहरुको आन्तरिक मुद्रामा गरिएको ऋण परिचालन २२ खर्ब ४७ अर्बबाट बढेर २२ खर्ब ७८ अर्ब पुगेको छ ।

बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो र तेस्रो महिनामा निक्षेप संकलन भन्दा कर्जा प्रवाहको दरलाई उच्च रुपले बढाएपछि वित्तीय क्षेत्रमा देखिएको असन्तुलनलाई कात्तिक र मंसिरमा ‘करेक्सन’ गर्ने प्रयास गरे पनि पुस महिनामा भने त्यो प्रयास ‘असफल’ भएको छ । यद्यपि बैंकहरु वित्तीय असन्तुलनप्रति सचेत भने रहेको तथ्याङ्कले देखाउँछ ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल पनि चुक्ता पुँजी वृद्धिसँगै नाफा बढाउनुपर्ने दबाबका बीचपनि वाणिज्य बैंकहरु पहिलो त्रैमासमा बैंकहरु कर्जा वृद्धिमा आक्रामक हुँदा वित्तीय असन्तुलन देखिए पनि दोस्रो त्रैमासमा उनीहरुले सुधार गर्दै गएको बताउँछन् । ‘पछिल्लो समय बैंकहरु सम्हालिएको सत्य हो, बैंकहरुले कर्जा विस्तारलाई निक्षेप वृद्धिसँग समायोजन गर्न थालेकोले वित्तीय क्षेत्र सन्तुलित बन्दै जाने विश्वास गर्न सकिन्छ ।’

यद्यपि पुस महिनामा भने कर्जा र निक्षेप वृद्धि बराबरले हुँदा त्यसले बैंकिङ क्षेत्रको सीसीडी अनुपातमा केही दबाब दिएको छ । सामान्यतया निक्षेपको ८० प्रतिशत मात्र कर्जा लगानी गर्नुपर्ने प्रावधान रहेकोमा ३० अर्बको कर्जा वृद्धि हुँदा २४ अर्ब मात्रै कर्जा प्रवाह बढाउनुपर्नेमा बैंकहरुले ३० अर्ब नै कर्जा बढाएका छन् ।

यद्यपि अघिल्ला दुई महिनाको सुधारले यस बर्ष बैंकहरुको वित्तीय विवरण केही सन्तुलित आउनसक्ने देखिन्छ । खासगरी मंसिर महिनामा ५४ अर्ब निक्षेप वृद्धि गरेका बैंकहरुले ३१ अर्बमात्र कर्जा बढाएका थिए । त्यस्तै कात्तिकमा ४३ अर्ब निक्षेप संकलन बढाउँदा कर्जा प्रवाह ३७ अर्बले बढेको नेपाल बैंकर्स संघको तथ्याङ्कमा उल्लेख छ ।

ब्याजदर वृद्धिले बढायाे निक्षेप

बैंकहरुले १३ प्रतिशतसम्म ब्याज घोषणा गरेको महिना हो मंसिर । उक्त महिनामा वाणिज्य बैंकहरुले ५४ अर्बको निक्षेप बढाएका छन् । एउटा बैंकबाट अर्को बैंकले तान्ने निक्षेप यसमा पर्दैन तर विकास बैंक, फाइनान्स कम्पनी तथा अन्य गैरबैंकिङ वित्तीय संस्था र अनौपचारिक क्षेत्रबाट आउनसक्ने निक्षेप संकलन भने यसमा समावेश हुन्छ । उच्च ब्याज प्रस्ताव गर्दा देखिएको यो वृद्धिदर पुस महिनामा निक्कै घटेको देखिन्छ ।

अर्थ मन्त्रालयले गठन गरेको सुधार समितिको कार्यान्वयनका लागि राष्ट्र बैंकले दबाब दिएसँगै बैंकिङ क्षेत्रले पुसको सुरुमै ब्याजदर घटाएका थिए । ब्याजदरमा भारी गिरावट आएसँगै यसको प्रभाव निक्षेप वृद्धिदरमा देखिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.