खप्तड आउने पर्यटकमा वृद्धि, स्थानीयवासी होमस्टे सञ्चालन गर्दै

  २०७५ माघ ३ गते १०:४५     विकासन्युज

काठमाडौं । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिएका छन् ।

निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महीनामा रु दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ ।

निकुन्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावर समेत हेर्न सकिन्छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ ।

खप्तड क्षेत्रमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे सञ्चालन गर्न लागिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरमा घरबासको व्यवस्था मिलाउन लागिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपकबहादुर खड्काको भनाई रहेको छ ।

जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् । बगलेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने भएकाले घरबासका माध्यमबाट पर्यटकलाई सुविधा दिन स्थानीय घर छनोट गरिएको जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.