ठूलो सोच र सानो पूँजीबाट गर्न सकिने व्यवसाय ‘पर्यटन’, उद्यमी श्याम थपलियाकाे अनुभव

  २०७५ पुष २९ गते १८:५४     श्याम थपलिया

ओशो वल्र्ड ट्राभल नेपाल प्रालिका प्रबन्ध निर्देशक श्याम थपलिया ट्राभल एण्ड टूर क्षेत्रका पायोनियर पर्सन हुन् । बाल्यकालमा पढेर स्कूलको टिचर बन्ने सोच थियो उनको । घरमा पैसाको अभाव टार्न उनले १७ वर्षको उमेरमा किराना पसल खोले । पछि महेन्द्र प्रकृति संरक्षण कोषमा १० वर्ष सरकारी जागिरपनि गरे । सन् १९९५ मा कम्यूनिकेशन साईबर चलाए । २० वर्षअघि साईबर बन्द गरेर ओशो वल्र्ड ट्राभल नेपाल कम्पनी खोले । यो कम्पनी ट्राभल, टुर तथा टिकेटिङमा लिडर कम्पनी हो, जसले उत्कृष्ट सेवा प्रदान गरेबापत हरेक वर्ष विभिन्न क्षेत्रबाट अवार्डहरु प्राप्त गर्दै आईरहेको छ ।


पछिल्लो समय उद्यमशीलताको लागि अनुकूल समय बन्दैछ । नयाँ पुस्ताले प्रोफेशनल तरिकाबाट काम गर्न चाहेको छ । राजनीतिक स्थायित्वसँगै नेपालमा घुमफिर गर्न, लगानी गर्न, व्यवसाय सञ्चालन गर्न अनुकूल वातावरण बन्दैछ भन्ने सन्देश विश्वमा गईरहेको छ ।

पर्यटन व्यवसाय अरु व्यवसायसँग अन्तर सम्वन्धित र परिपूरक छ । पर्यटन व्यवसाय विस्तार हुँदा कृषि, उद्योग, सेवा सबै क्षेत्रको व्यवसाय विस्तार हुन्छ । पर्यटक आउँदा साग बिक्छ, आलु बिक्छ, फलफूल बिक्छ । होम स्टेदेखि होटलको आम्दानी हुन्छ । बैंकलाई किस्ता नियमित हुन्छ । इन्स्योरेन्स कम्पनीलाई प्रिमियम आउँछ । दूरसञ्चार कम्पनीहरुको सेवा बिक्छ । पर्यटन क्षेत्रले व्यवसायिक गतिविधि विस्तारसँगै विश्वलाई नजिक ल्याउँछ । ज्ञान र सिपको स्थान्तरण तथा हस्तान्तरण गर्छ ।

पर्यटन क्षेत्रको विकासतर्फ राम्रा सूचक देखिएका छन् । हरेक वर्ष नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भईरहेको छ । सन् २०१८ मा करिव ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ । ५ वर्षसम्ममा ५० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा भएको छ ।

घोषणा मात्र होइन, कार्यस्थलमा सुधारपनि देखिन्छ । दुई वर्षअघि एउटा पाँच तारे होटलले जेनेरेटर चलाउन मासिक २० लाख रुपैयाँ डिजेल खरिदमा खर्च गर्नु पथ्र्यो । आज लोडसेडिङ अन्त्य भएको छ । २० लाखको सट्टा २ लाख बिजुलीमा खर्च होला । मासिक १८ लाख बचत भएको छ ।

पूर्वाधार निर्माणतर्फ पनि धेरै काम भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य दु्रत गतिमा हुँदैछ । पहिला एउटा मात्र अन्तर्राष्ट्रिय बिमानस्थल थियो भने अब दुई वटा हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार हुँदैछ । यसले हवाई सेवा विस्तार, अन्तर्राष्ट्रिय बजारसँगको सञ्जाल बिस्तारमा सहयोग नै गर्छ । होटलहरुमा नयाँ लगानी थपिएका छन् । स्तरीय होटलमा एक हजार भन्दा बढी कोठा थपिंदैछन् । सञ्चार सुविधा राम्रो भईरहेको छ । पर्यटकीय गन्तव्य नजिकसम्म स्वस्थ्य सेवा बिस्तार हुन जरुरी छ ।

पर्यटन सेवाको क्षेत्रमा जनशक्ति विकासमा जोड दिनुपर्छ । भाषामा निखारता आवश्यक छ । सभ्य र मिठास भाषाको प्रयोगमा जोड दिनुपर्छ । हस्पिटालीटिमा सीप र दक्षताको विकास जरुरी देखिन्छ ।

नयाँ मान्छे पर्यटन क्षेत्रमा प्रवेश गर्नु पूर्व विषयबस्तुको ज्ञान हासिल गर्नुपर्छ । नेपालमा कति पर्यटक आउँछन्, कति होटल छन्, कति ट्राभल एजेन्सी छन्, कति ट्रेकिङ कम्पनी छन् ? कुन क्षेत्रको सेवास्तर कस्तो छ ? अध्ययन हुनुपर्छ । त्यसपछि कुन सेवा दिन तयार हुने हो ? त्यसमा नयाँपन के दिने हो ? स्पष्ट सोच हुनुपर्छ । अरुको कपी गर्ने र अरुको व्यवसाय खोस्ने सोच बनाएर यस क्षेत्रमा आउनेहरु पछि अलमलमा पर्छन्, संकटमा पनि पर्छन् ।

एउटा ट्राभल कम्पनी खोल्ने हो भने त्यसको लागि आवश्यक पूर्वाधार के–के हुन् ? अफिस कहाँ राख्ने, कस्तो पूर्वाधार बनाउने, यातायातको प्रबन्ध कसरी मिलाउने ? पर्यटकीय गन्तव्यहरुको छनौट कसरी गर्ने, त्यसबारे पर्याप्त जानकारी कसरी लिने, जनशक्ति परिचालन कसरी गर्ने, सबै कार्य गर्नको लागि पूँजी कसरी जुटाउने जस्ता विषयमा सोच, योजना र पूँजीको प्रबन्ध हुनु पर्यो । त्यसपछि व्यवस्थापकीय कार्य अरुले भन्दा राम्रो गर्दै जानुपर्यो ।

सानो पूँजी, ठूलो सोच

युरोपमा दाउरा बेचेर धनाढ्य भएका छन् । त्यहाँ ठूला मुढाको व्यापार गर्नेहरु धेरै थिए । ठूलो मुढा बाल्नको लागि साना दाउरा आवश्यक सबैलाई हुन्थ्यो । त्यहि बेला एक जनाले सानासाना दाउरा बनाएर ठूला मुढा बाल्नेलाई बेच्न थाले । उनी पनि यूरोपका ठूला धनाढ्य भए । शुरुमा उनको लगानी नै थिएन । थोरै दाउरा संकलन गरेर बेच्न थालेका हुन् ।

पर्यटन क्षेत्रमा व्यवसाय गर्न चाहानेसँग राम्रो सोच छ, योजना छ भने पूँजी ठूलो कुरा होइन । सानोपूँजीबाट पनि पर्यटन सेवाको क्षेत्रमा उद्यमी बन्न सकिन्छ । कामको प्रकृति हेरेर पूँजीको आवश्यकता पर्छ । एक लाख पूँजी लगानी गरेर पनि पर्यटन क्षेत्रमा सेवा शुरु गर्न सकिन्छ । काम गर्दै जाने, सिक्दै जाने, सुधार गर्दै जाने, क्षमता बिस्तार गर्दै जाने विधि सबैभन्दा राम्रो हो । शुरु मै राम्रो होटल बनाउँछु भन्यो भने कम्तिमा १ अर्ब पूँजी चाहिन्छ । भर्खरै ठमेलमा सञ्चालन हुन लागेको छायाँ सेन्टरमा ५ अर्ब लगानी भएको समाचार पढ्याैं। त्यो भन्दा राम्रो होटल खोल्न अथाहा पूँजीको आवश्यकता पर्छ ।

पर्यटन क्षेत्रमा प्रवेश गर्न चाहाने उद्यमीहरुले ध्यान दिनु पर्ने कुरा के हो भने पूँजी भन्दा ठूलो मानव संशाधन हो । राम्रो सोच र योजना छ, बैंकलाई धितो दिने सम्पत्ति पनि छ, मानव संशाधन राम्रोसँग परिचालन गर्न सक्ने क्षमता छ भने पैसा बैंकले दिन्छ ।

सानो पूँजी लगानी गरेर अरुले भन्दा फरक काम थाल्ने उद्यमीहरु नै सफल हुन्छन् । आज विश्वका धनाढ्यहरुको सूचि केलाएर हेर्ने हो भने अधिकांश धनाढ्यहरु पहिलो पुस्तामा नै धनाढ्य भएका छन् । ठूला लगानीले नभई नविन सेवा तथा बस्तु उत्पादनले उनीहरुलाई धनी बनाएको छ ।

अर्गानिक ग्रोथ राम्रो हुन्छ । आफ्नो क्षमताले भ्याउने मात्र काम गर्नुपर्छ । सोचेजस्तो राम्रो कसैले गर्न सक्दैनन् । अरु विलिनियर भए भन्दैमा त्यसको कपी गर्नेहरु सफल हुँदैनन् । उद्यमी बन्ने कुरा कपी गरेर हुँदैन, भित्रबाट पलाएर आउनुपर्छ । जुनसुकै व्यवसाय गर्दा पनि त्यसको अध्यारो पक्ष हुन्छ । अध्यारो पक्ष देख्न सक्ने, अध्यारो पक्षलाई चिर्न सक्ने र अप्ठ्यारो अवस्थामा नआत्तिने व्यक्ति व्यवसायमा सफल हुन्छ ।

खुशी र तनाव

औसतमा हाम्रो जीवन २९००० दिनको हुन्छ । हामी हाम्रा आफन्त गुम्दा करिव २०० दिन मात्र दुःखी हुन्छौं । बाँकी दिन खुशी नै हुने हो । तर, खुशी हुन जान्नुपर्छ । उद्यमी कै कुरा गर्दा पहिलो पटक कम्पनी दर्ता गरेपछि खुशी भईन्छ । कार्यालय खोल्ने क्रममा एउटा फोन जोड्दा पनि खुशी हुइन्छ । अफिसमा फर्निचर सेट गर्दा एउटा खुशी मिल्छ । कर्मचारीहरु राखिसकेपछि अर्को खुशी थपिन्छ । व्यवसाय राम्रो हुँदै गर्दा खुशी थपिदै जान्छ । अरुको भन्दा राम्रो गर्न सकियो, पहिलो स्थानमा नै आउन सकियो भने झनै खुशी हुइन्छ ।

उद्यमी सधैं खुशी मात्र रहन सक्दैन, तनावपनि हुन्छ । तर, तनावलाई पनि खुशीको रुपमा लिन सक्नुपर्छ । किनकी तनाव नै आवश्यकता आविश्कारको जननी हो । जब मान्छेमा तनाव हुन्छ, तब उसलाई अगाडि बढ्नु पर्ने आवश्यकता पनि हुन्छ । आवश्यकता भएपछि त्यो पूर्ति गर्न नयाँ सोच आउँछ । कर्मचारीलाई तलब खुवाउनु पर्छ । घर भाडा तिर्नु पर्छ । कार्यालयको आवश्यक सरसामान किन्नुपर्छ । कम्पनीको लागि बस्तु तथा सेवा प्रदायकलाई भुक्तानी दिनु पर्छ । बैंकको ब्याज र किस्ता तिर्नुपर्ने हुन्छ । सरकारलाई कर तिर्नुपर्छ । सरकारी नीति नियमको परिपालना गर्नुपर्छ । यी सबै पक्षको व्यवस्थापन गर्न धेरै चुनौतिहरु हुन्छन् । एउटा उद्यमीले यी सबै चुनौतिहरुमा रमाउनु सक्नुपर्छ ।

मानिस पहिला हातमुख जोड्ने प्रयासका लागि काम गर्छ । त्यसपछि केही बचत गरेर घरबार जोड्न प्रयास गर्छ । त्यसपछि केही कमाउनु पर्छ भन्ने हुन्छ । त्यसपछि बचाउने दिशामा जानु पर्छ । त्यसपछि मानिस आस्थिक बन्छ । धर्म, चिन्तन मनन्मा जाने हो ।

उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू


उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार

सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा

नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार

उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.