नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे १२ अर्ब नाघ्यो

  २०७५ पुष २९ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । १८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस सेयरको हिस्सा १५ रुपैंया मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो ।

त्यसैगरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सेयरधनीकोष रकम २४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यस बैंकको सेयरधनीकोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । आ.व. २०७४–७५ मा ४ अर्ब ९५ करोड रुपैयाँको सञ्चालन मुनाफा कमाएको छ ।

त्यसैगरी खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर १२० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।

आइतबार बैंकको सेयर मूल्यमा समान्य वृद्धि भएको छ । बिहीबार प्रतिकित्ता ५४७ रुपैयाँ रहेको बैंकको सेयर आइतबारको बजारमा बढेर प्रतिकित्ता ५५५ रुपैयाँसम्म कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.