स्वास्थ्य बीमा प्रभावकारी केन्द्रबिन्दु बन्दै बागलुङ, करिब ३८ हजारबढी आवद्ध

  २०७५ पुष २९ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य बीमामा बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आवद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताएका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।सो बीमामा हालसम्म आठ हजार २०४ परिवार  आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताएका छन् । अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा आउने गरेका भनाई रहेको छ ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.