माथिल्लो तामाकोशी फेरी ऋणको खोजीमा, चक्रवर्ती व्याज र ठेकदारको बेइमानीले आयोजनाको लागत दोब्बर

  २०७५ पुष २९ गते १०:४७     विकासन्युज

काठमाडौ । शुरुमा रु ३५ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने भनिएको माथिल्लो तामाकोशी आयोजनाको लागत बढेर रु ७० अर्बको हाराहारीमा पुगेको छ । अझै निर्माण अवधि थपिदै जाँदा लागत थप बढ्ने देखिएको छ ।

कूल लागत रु ३५ अर्ब २९ करोड मुख्य लागत, निर्माण अवधिको ब्याज रु १३ अर्ब २१ करोड ७० लाख र ३५ करोड ७० लाख हुने अनुमान थियो । तर व्याज बढेर मात्रै रु २० अर्ब पुगेको छ । आयोजनाको ०७४ चैत ३० गतेको सञ्चालक समिति बैठकले अनुमानित लागतलाई संशोधन गरी रु ६९ अर्ब ५९ करोड १९ लाख पु¥याइएको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठको भनाइ छ ।

आयोजनामा ब्याजबाहेक आयोजनाको अनुमानित लागत रु ४९ अर्ब २९ करोड ५५ लाख हुने बताइएको छ । व्याज समेत जोडदा रु ६९ अर्बको हाराहारीमा पुगेको छ ।

आयोजनाका लागि अझै थप केही रकम आवश्यक पर्ने देखिएको छ । आवश्यक रकमका लागि आयोजनाले कोषसँग थप ऋणको प्रस्ताव गरेको छ ।

बेइमान गर्दै ठेकदार

आयोजना प्रमुख श्रेष्ठका अनुसार हाल आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ । तर पछिल्लो पटक भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले निर्माण सामग्री ढुवानी गर्न नसकेको भन्दै काम नै अवरुद्ध गर्ने मनसाय राख्यो ।

आयोजनामा दुई वटा ठाडा सुरुङ रहेका छन् । ती ठाडा सुरुङको लम्बाई क्रमशः ३१० र ३७२ मिटर रहेका छन् । ती सुरुङमा स्टिलका मोटा पाइप जडान गर्नुपर्छ । जडान गर्नुपर्ने पाइप मध्ये आधा मात्रै आयोजना स्थलमा पुगेका छन् । तीमध्ये १३० भन्दा बढी पाइप सुनकोशीको किनारमा अलपत्र छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोजनाका पदाधिकारीको संयुक्त छलफल पछि टेक्सम्याकोको काम अष्ट्रियाको कम्पनी उन्ड्रिज हाइड्रोलाई नै जिम्मा दिइएको छ । आयोजनाको समय र लागत दुवै बढ्ने अवस्था आएपछि भारतीय कम्पनीको काम समेत अष्ट्रियाको कम्पनीलाई दिइएको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्री वर्षमान पुनले पटक पटक आयोजनाको प्रगतिका बारेमा चासो राखे । तर समस्या जहाँको तही रहेको छ । सिभिलको काम सकेर चिनियाँ ठेकेदार विदा हुने अवस्थामा पुग्दा समेत भारतीय ठेकेदारले आयोजनालाई समस्यामा पार्ने काम गरेको सहजै अनुभव गर्न सकिन्छ ।

प्रसारण लाइन तर्फको काम सन्तोषजनक भएपनि आयोजना कहिले सकिन्छ भन्ने बारेमा कोही पनि यर्थाथ जानकारी दिन तयार छैनन् । सुरुमा आर्थिक वर्ष २०७२/७३ को असारमा नै सकिने बताइएको थियो । पछि आव २०७३/७४ को अन्त्यसम्म सकिने जानकारी दिइयो । पुनः संशोधन गरेर २०७५ पुस मसान्त बनाइयो । तर यो अवधिमा पनि आयोजनाको काम जुन बिन्दुमा गएर रोकिएको थियो सोही बिन्दुमा नै रहेको छ ।

संशोधित तालिकाअनुसार २०७६ सालको साउनदेखि आयोजनाको परीक्षण उत्पादन सुरु गर्ने बताइएको छ । तर भारतीय ठेकेदार कम्पनीले समस्यामा पारेको आयोजना तोकिएको समयमा पूरा हुनेमा पुनः आशंका उत्पन्न भएको छ । २०७६ कात्तिकदेखि व्यवसायीक उत्पादन सुरु गर्ने बताइएको छ । तर हालको गति र मतिका आधारमा आयोजना सोही समयमा सकिनेमा दुविधा रहेको छ ।

गुम्यो एक अर्बको पुरस्कार

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा परिभाषित गरेको सो आयोजनाको क्षमता ४५६ मेगावाट रहेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएको समय भन्दा अगावै आयोजना सकिए रु एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका थिए । ऊर्जा मन्त्री वर्षमान पुनले त पटक पटक आयोजनाको स्थलगत निरिक्षण समेत गरे । तर आयोजना जहाँको तही रहेको छ ।

चक्रबर्ती व्याजकाे मार
जानकारहरुका अनुसार माथिल्लो तामाकोशीले सञ्चय कोषलाई व्याज मात्रै रु २० अर्ब बराबर तिर्नु पर्ने भएको छ । कोषले आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई १२ प्रतिशत व्याजमा ऋण दिएको हो ।

माथिल्लो तामाकोशी आयोजनाकाअनुसार आर्थिक वर्ष २०७४/७५ सम्म मात्रै रु १४ अर्ब ४२ करोड ५८ लाख व्याज तिरिसकेको छ । चालु आर्थिक वर्षमा मात्रै आयोजनाले कोषलाई रु ५ अर्ब ४१ करोड ५६ लाख व्याज तिर्नेछ । यसबाट कूल रु १९ अर्ब ८४ करोड व्याज पुग्ने छ । गत आर्थिक वर्षसम्मको ब्याज आयोजनाको लगानीमा पुँजीकरण भइसकेकोछ । जसबाट आयोजनाको लागत समेत बढ्न पुगेको छ ।

अहिले ब्याजदर घटाउनका लागि कोषसँग छलफल भइरहेको आयोजनाले जानकारी दिएको छ । निर्माण अवधिको ब्याज पुँजीकृत गरी आयोजनाको कुल लागतमा जोडिने गरेको छ । भूकम्पका कारण आयोजनाको निर्माण अवधि ३ वर्ष लम्बिएको छ भने सञ्चय कोषले त्रैमासिक रुपमा चक्रवर्ती ब्याज गणना गर्दा लागत बढ्दै गएको छ ।

स्वीकृत गरिएको सुरुको लागतमा व्यापारिक बिजुली उत्पादनका लागि प्रक्षेपित निर्माण अवधि ६ वर्ष तोकिएको थियो । सोही आधारमा ११ प्रतिशतमा कर्जा लिइएको थियो । सो आधारमा रु १३ अर्ब २२ करोड व्याज अनुमान गरिएको थियो । आयोजनाको निर्माण अवधि क्रमशः थपिदै जाँदा व्याज मात्रै रु २० अर्ब बढी पुग्ने देखिएको छ ।

सामान्यता ठूलो परिमाणमा ऋण लगानी गर्दा केही सहुलियत हुने भएपनि एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई ऋण दिँदा बढी भन्दा बढी व्याज लिएका कारण पनि आयोजनाको लागत बढ्न गएको पाइएको छ । उच्च व्याजदरले गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत बढ्न गएको भन्दै आलोचना समेत सुरु भएको छ ।

कोषका अधिकारी भने नियमनअनुसार नै व्याज लिएको र त्यसमा कुनै पनि बदमासी नगरिएको बताउने गरेका छन् । तर औपचारिक रुपमा भने सम्झौतामा भए अनुसार भएको हो भन्ने बाहेक उनीहरुले थप प्रतिक्रिया पनि दिँदैनन् । आयोजनाले पटक पटक व्याजदर घटाइदिन आग्रह गरेको श्रेष्ठले बताए ।

अमेरिकी डलर पनि लागत वृद्धिको कारण

माथिल्लो तामाकोशीमा कार्यरत सबै निर्माण व्यवसायी विदेशी छन् । सिभिलको काम गर्ने सिनो हाइड्रो, इलेक्ट्रोमेकानिकको काम गर्ने अष्ट्रियाको उन्ड्रिज हाइड्रो र हाइड्रोमेकानिलकको काम गर्ने भारतीय निर्माण कम्पनी टेक्सम्याकोलाई आयोजनाले अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा आयोजनालाई थप रु ७ अर्ब ६ करोड व्ययभार थपिएको छ । आयोजना सुरु हुँदा १ डलर बराबर ८० रुपैयाँको हिसाब गरिएको थियो । डलरको मूल्य वृद्धि भएपछि मात्रै रु ७ अर्ब ६ करोड थप हुन पुगेको छ । पछिल्लो समयमा डलरको मूल्य बढेर रु ११८ सम्म पुगेको थियो । हाल एक अमेरिकी डलर बराबर रु ११२ रहेको छ । पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ २५ प्रतिशतले अवमूल्यन भयो । जुन कारण पनि आयोजनाको लागत बढ्न गयो ।

यस्तै आयोजनाको निर्माण अवधि लम्बिएपछि निर्माण सुपरिवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, बजार मूल्यमा वृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कामको परिमाण र करको दरमा भएको वृद्धिले समग्र रुपमा आयोजनाको लागत बढन पुगेको छ । आयोजनाकाअनुसार ०६५ चैत ७ गतेको सञ्चालक समिति बैठकले आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज र वित्तीय व्यवस्थापन तथा बैङ्क कमिसन अनुमानका आधारमा रु ४८ अर्ब ८६ करोड ४० लाख कूल लागत हुने देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.