बीमा कम्पनीका कर्मचारीको तलब बढाइँदै, सामाजिक सुरक्षा पनि समेटिने

  २०७५ पुष २९ गते ८:४४     विकासन्युज

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति

काठमाडौं । सबै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको न्युनतम तलब र सुबिधा समान हुने भएको छ । बीमा समितिले बीमक कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब सुबिधा सम्बन्धी दिग्दर्शन मार्फत सबै कम्पनीका कर्मचारीको न्युनतम तलब सुबिधा समान बनाउन लागेको हो ।

‘सबै बीमा कम्पनीहरुमा कर्मचारीहरुको न्युनतम तलब र सुबिधा समान होस भनेर नयाँ व्यवस्था अघि सार्ने तयारी गरेका छौं, केहि समयभित्रै कार्यान्वयनमा ल्याउँछौं’, बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

उनका अनुसार बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब सुबिधा सम्बन्धी नयाँ दिग्दर्शनमा श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यान्वयन अनिवार्य गरिनेछ । हाल धेरै बीमा कम्पनीहरुमा श्रम ऐन कार्यान्वयन हुन सकिरहेको छैन् । बैंकिङपछिको आकर्षक करिअर मानिएको बीमा क्षेत्रमा श्रम ऐन लागु नभएको भन्दै बीमा समितिकै आलोचना हुँदै आएको छ ।

बीमा समितिले कर्मचारीको सेवा सुबिधा सम्बन्धमा जुन जुन ऐन तथा नियमावलीहरुमा व्यवस्था छ ति सबैलाई समेटेर दिग्गदर्शन बनाउन लागेको हो । ‘बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको जीवनस्तर राम्रो हुनुपर्छ, श्रम ऐनको व्यवस्था कार्यान्वयन हुनुपर्छ र समाजिक सुरक्षा कोष पनि कार्यान्वयन हुनुपर्छ’, निमित्त कार्यकारी निर्देशक पौडेलले भने ।

दिग्दर्शन आएपछि बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि न्युनतम तलब तोकिनेछ । सो भन्दा बढी तलब सुबिधा दिन सक्नेछन् ।

दिग्दर्शन कार्यान्वयनमा आएपछि बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीहरुको न्युनतम तलब र सुबिधामा भारी वृद्धि हुनेछ । त्यसमा सामाजिक सुरक्षा कोष समेत थपिएपछि बीमा कम्पनीहरु नयाँ पुस्ताको आकर्षण वृद्धि हुने दावी गरिएको छ । अहिले बीमा कम्पनीहरु प्रति नयाँ पुस्ताको आकर्षण भएपछि न्युन सुबिधाका कारण केहि समयमै पलायन हुने अवस्था रहेको छ ।

समितिले कर्मचारीहरुको न्युनतम तलबमान बारे बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल समेत गरिसकेको छ । ‘समितिसँग एक पटक छलफल भएको छ, कर्मचारीको सेवा सुबिधाको न्युनतम मापदण्ड बनाउनेबारे हामीले आफ्नो धारणा दिईसकेका छौं’, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भने ।

उनले कर्मचारीको सेवा सुबिधा सम्बन्धी नयाँ दिग्दर्शनले बीमा कम्पनीहरुमा नयाँ कामदारको आकर्षण बढ्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.