नियम परिवर्तन हुँदा सवारी चालकलाई सास्ती, ट्राफिक प्रहरी भन्छ-नियम उल्लंघन गर्ने बढेपछि बाध्य भयौं

  २०७५ पुष २७ गते १५:३०     खेम बोलखे


काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी चलाउने चालकहरुले पटक-पटक फेरिने गरेका नियमहरुका कारण सास्ती खेप्दै आएका छन् । विभिन्न ठाउँका सडक कति बेला एकातर्फी(वान वे) हुन्छन् केही थाहा हुन्न ।

हिजोसम्म एउटा चोकबाट सवारी मोड्न पाइन्थ्यो, तर आज पाइन्न । ट्राफिक नियम परिवर्तन भइसकेको हुन्छ । त्यसकारण समय मै कार्यालय पुग्नु पर्ने कर्मचारी समयमा पुग्न सक्दैनन् । विभिन्न कार्यालयमा काम लिएर गएकाहरु गन्तव्यमा पुग्न लामो दूरी पार गर्न बाध्य हुनु पर्छ ।

यी समस्या काठमाडौँ उपत्यकामा सवारी चलाउनेहरुले आज मात्र होइन, विगत लामो समयदेखि भोग्दै आएका छन् । अहिलेपनि काठमाडौँको पद्मोदयमोड, कमलादी र पुतलीसडकमा सवारी चालकले यस्तै खाले समस्या झेलिरहेका छन् ।

यस सम्बन्धमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले सवारी चालकहरुले लेन अनुशासन नमानेकाले अहिले पद्मोदयमोड, कमलादी र पुतलीसडक क्षेत्रमा डोरीले लाइन तानिएको बताए ।

ट्राफिक प्रहरीले जनतालाई दुःख दिनका लागि पटक पटक ट्राफिक नियम परिवर्तन गरेको होइन । सवारी चलाउने भएपछि लेन नियम त पालना गर्नु पर्यो नि ? नियम नमान्ने अनि अहिले यही नियम पालना गराउनका लागि ट्राफिकले डोरी तान्न बाध्य भएको कुरालाई दुःख दिन खोजेको रुपमा नबुझ्न ट्राफिक प्रवक्ता सापकोटाले आग्रह गरे ।

ट्राफिक प्रहरी राखेरपनि भएन, सवारी चालकहरुले लेनक्रस गरेर हैरान पारे, त्यसकारण बाध्य भएर डिभाइडर राखेर डोरी टाग्न बाध्य भयौं-प्रवक्ता सापकोटाले भने । पिक आवरमा जाम हुन नदिन, भीआइपीहरुको आवतजावत हुने स्थान र सडकको अवस्थाको अध्ययन र विश्लेषण गरेर ट्राफिक प्रहरीले वान वे, डिभाइडर राखेर डोरी तान्ने जस्तो गतिविधि गरेको प्रवक्ता सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.