झापाका ३ नगरपालिकाको फोहरलाई मिथेन ग्यासमा परिणत गर्ने तयारी

  २०७५ पुष २७ गते १४:२९     विकासन्युज

काठमाडौं । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो ।

विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक/पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हुन्र । अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनपाका प्रमुख राजेन्द्रकुमार पोखरेलको भनाई रहेको छ ।

ग्यास प्लान्टमा स्थानीयवासीकै स्वामित्व रहने गरी शेयर बिक्रीसमेत खुला गरिएको छ । हाल रु ८० लाख बराबरको शेयर बिक्री भइसकेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा कनकाई नरपालिकाका वडाध्यक्ष पर्शुराम गिरीले बताएका छन् । उक्त समितिले कार्यसम्पादनका लागि मिनाल तिम्सिनाको संयोजकत्वमा विर्ता, अर्जुन, कनकाई नवीकरण ऊर्जा समिति गठन गरेर काम शुरु गरेको हो । उक्त समितिले रु पाँच करोड बराबरको शेयर बिक्री गर्ने लक्ष्य समितिको रहेको छ ।

प्रदेश नं १ मा पहिलोपटक शुरु हुन लागेको ग्यास प्लान्टमा तीनवटै नगरपालिकाका जनताले शेयर सदस्य बन्न पाउने प्रावधान राखिएको वडाध्यक्ष गिरीले जानकारी दिएका छन् । रु १५ करोडको लगातमा निर्माण हुने उद्योगमा झण्डै दुईसय स्थानीयवासीले रोजगारी पाउने जानकारी दिएका छन् । उक्त नगरका फोहर व्यवस्थापनका लागि पैसा खर्च गर्नुभन्दा त्यसलाई नै ऊर्जामा परिणत गरियो भने आम्दानी र रोजगारी हुँदा मिथेन ग्यास उद्योगको परिकल्पना गरिएको गिरीले बताएका छन् । त्यहाँबाट निस्कने ग्यासलाई सिलिण्डर वा पाइपलाइन मार्फत तीनवटै नगरपालिकाका जनताको घरघर पुर्याइने जानकारी दिएका छन्।

एक हप्ताभित्रमा यसको निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंसँग सम्झौता गर्ने तयारी भइरहेको छ । चालु आर्थिक वर्षभित्र शुरु गरिने ग्यास प्लान्ट आगामी २०७६/७७ देखि सञ्चालनमा ल्याइने कानपाका प्रमुख पोखरेलले बताउएका छन् । हाल विर्तामोड नगरपालिकाबाट दैनिक छ टन, अर्जुनधारा र कनकाई नपाबनट तीन टन घरेलु फोहर निस्किने गरेको छ । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने जानकारी दिँदै फोहरबाट मिथेन ग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने बताएका छन् ।

प्लाष्टिकबाट पेट्रोल निकालिने सम्भावना अध्ययन

प्रदेश नं १ ले झापालाई लक्ष्य गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेकोे कनकाइका प्रमुख पोखरेलले बताएका छन् । झापाका पाँचवटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्ने वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिएका छन् ।

नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्चालनका लागि प्रदेश नं– १ को सरकारले रु एक करोड समेत विनियोजन गरेको छ । कनपाले गतवर्ष नै प्लाष्टिकबाट पेट्रोल निकाल्न सकिनेमा ‘डेमो’ समेत गरिसकेको नगरप्रमुख पोखरेलको भनाई रहेको छ । विर्तामोड, अर्जुनधारा, मेचीनगर र शिवसताक्षी नगरपालिकासँग समेत यसबारेमा छलफल भइरहेको जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.