नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत,  ६० हजारलाई रोजगारी

  २०७५ पुष २७ गते १२:२४     विकासन्युज

काठमाडौँ । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महा प्रबन्धक बाबुल खनालले जानकारी दिएका छन् । राज्यको तीनखम्बे अर्थनीति मध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताएका छन् ।
विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आवद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको छ । त्रिसठ्ठी लाख शेयर सदस्य रहेको सहकारीमा महिलाको सङ्ख्या ५१ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारी मार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सय बढी सहकारीकर्मीहरू उद्यम प्रवद्र्धनका लागि काठमाडौँमा भेला भएका छन् ।

सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट लघु, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गरी स्वरोजगारको सिर्जना गर्दै आर्थिक उन्नति गर्न सकिने छ । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले तीन खम्बामध्येको एक खम्बाको औचित्य पुष्टिको आवश्यकता रहेको औँल्याउएका थिए । सहकारी क्षेत्रको योगदानलाई उल्लेख्य वृद्धि गरी साना, मझौला तथा ठूला उद्यम प्रवद्र्धनको अपरिहार्य आवश्यकता भएकाले राज्यको ध्यान जानुपर्ने सहकारीकर्मीको भनाइ रहेको छ ।

सहकारीको विकासका लागि सकारात्मक सोचको विकास जरुरी रहेको राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले साना किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठूलो योगदान रहेको बताएका छन्। राज्य, समाज र पूँजी निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले नवीन प्रविधिलाई अवलम्वन गरी उद्यम व्यवसायको विकास गर्नुपर्ने उल्लेख गर्दै परम्परागत व्यवसायलाई विविधिकरण गरी उत्पादन, वितरण र सेवाको क्षेत्रमा सहकारीको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सहकारी महासङ्घद्वारा काठमाडौँमा आयोजित ‘उद्यम प्रवद्र्धन राष्ट्रिय कर्याशाला’ विषयक दुईदिने गोठीमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल जारी गरेको छ । बिहीबारदेखि जारी दुईदिने कार्यशालामा भूमि व्यव्स्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ‘सहकारी उद्यमशीलता प्रवद्र्धनका लागि विद्यमान कानूनी व्यवस्था’का विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

यस्तै पूर्वमन्त्री गणेश शाहको ‘उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग’, योग विज्ञान विशेषज्ञ डा राजु पौडेलको ‘व्यावसायिक सफलताका लागि सकारात्मक सोचको विकास’, अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णको ‘सहकारी–सहकारीबीचको व्यवसाय : सम्भावना र चुनौती’ तथा उद्यमशीलताका जानकार तारा ढकालको ‘सहकारीमार्फत लघुउद्यम प्रवद्र्धन’का विषयक कार्यपत्रमाथि छलफल जारी रहेको महासङ्घले जानकारी दिएको छ।उक्त कर्याशालाको उद्घाटन गर्दै अथमन्त्री डा युवराज खतिवडाले निजी उद्यमभन्दा फरक ढङ्गमा जाने सहकारीलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.