विज्ञापन ऐन संसदमा, क्लिन फिडले ल्याउँदैछ ५ अर्बको अवसर

  २०७५ पुष २७ गते ९:४७     विकासन्युज

काठमाडौं । सरकारले विज्ञापन ऐनको मस्यौदा संसदमा पुर्याएको छ । सञ्चार तथा सूचना प्रबिधी मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा मन्त्रिपरिषद बैठकले पारित गरेर संसदमा पठाएको हो । यो ऐनको मस्यौदा राष्ट्रिय सभामा पठाईएको छ । ऐन कार्यान्वयनमा आएपछि ५ अर्बको विज्ञापन बजार थपिनेछ । हाल नेपालको विज्ञापन बजारको आकार करिब १३ अर्ब रहेको बताइन्छ ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पुगेको छ, त्यो पास भएर कार्यान्वयनमा आएपछि क्लिन फिड नीति कार्यान्वयनमा आउँछ’, सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल बास्कोटाले भने । ‘क्लिन फिड देशको पक्षमा छ, यो कार्यान्वयनमा आएपछि १२।१३ अर्बको विज्ञापन बजारको हिस्सा व्यापक मात्रामा वृद्धि हुन्छ’, मन्त्री बास्कोटाले भने ।

केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ साउन ७ गतेको मन्त्रिपरिषद बैठकबाट २०७४ साउन १ गतेदेखि क्लिन फिड कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालय मार्फत क्लिन फिड कार्यान्वयन रोकेको थियो ।

क्लिन फिड कार्यान्वयन नगर्न केबल टेलिभिजन महासंघले बिरोध गर्दै आईरहेको छ । क्लिन फिडलाई विज्ञापन रहित विदेशी च्यानल नीतिका रुपमा लिइन्छ । यो लागु भएपछि विदेशी च्यानलमा विदेशी विज्ञापन आउँदैन र विदेशी विज्ञापनमा नेपाली आवाज भरेर बजाउन पनि पाइँदैन् ।

नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले क्लिन फिडलाई व्यापार र राष्ट्रियतासँग जोडेर हेर्नुपर्ने धारणा राखे । ‘क्लिन फिड व्यापार मात्रै होइन, यो मुलभूत रुपमा राष्ट्रियता हो । यद्यपी यसले नेपालमा ५ अर्बको विज्ञापन बजार उपलब्ध गराउछ । तर पनि यो व्यापार भन्दा राष्ट्रियताकै पक्ष हो । नेपालका सवालमा विदेशी च्यानल भनेको भारतीय च्यानल हो । तिनमा आउने विज्ञापनले नेपाली भाषा र संस्कृति माथी ठाडो हस्तक्षेप गरिरहेका छन् । त्यसलाई रोक्न क्लिन फिड अघि सारिनु पर्छ ।’, रिजालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.