पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय, सिंहदरबारकाे मुलढाेकामा विशेष कार्यक्रम गरिदै

  २०७५ पुष २६ गते २१:०२     विकासन्युज

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ ।

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएका छन्छ। सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताएका छन् ।

प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए ।

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो ।

विविध कार्यक्रम हुने

नेपाल एकिकरण गर्ने पूर्व राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् । देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती दिवस समारोह समितिले पृथ्वीनारायण शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्दैछन् ।

नुवाकोट नेपालको दोस्रो राजधानी, पृथ्वीनारायणद्वारा ‘दिव्योपदेश’ दिइएको थलो र उनले देहत्याग गरेको भूमिकाे रूपमा चिनिन्छ  ।त्यसबाहेक नेपाल एकीकरणसँगै यहाँ भित्रिएका मुसलमान र हिन्दू धर्मावलम्बी ठकुरी, मगर, नेवार, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायणकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ । एकीकरण कालदेखि शुरु भएको यहाँको साँस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन र ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नौकोट र नुवाकोटका साततले दरबारलगायत अनेकौँ साक्षी प्रमाणले उनको पौरख र अस्तित्वलाई सम्झाउँछन् ।

‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’ भन्ने आशयका पृथ्वीनारायणका कैयौंँ उद्गार दिव्योपदेशका नामले आज पनि सान्दर्भिक मानिन्छन् । बाइसे तथा चौबीसेसहितका राज्यलाई एकीकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायणको योगदानको कदर गर्दै विगतमा पृथ्वीजयन्तीलाई पर्वकै रुपमा मनाउँदै अाएका विदुर नगरपालिकाका रामकृष्ण भट्ट भन्नुहुन्छ, “यो वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएन तर क्रिसमसमा बिदा दिने तर आफ्नै इतिहासलाई भुल्ने काम राम्रो भएन । सङ्घीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।”

दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्को भनाइ छ । एकथरिले उनी मुलुक एकीकरण गरेर राष्ट्रनिर्माता बन्न सफल भएको भन्छन् भने अर्काथरिले उनलाई पहिचान विरोधीका रुपमा अथ्र्याएका छन् । “उहाँलाई राष्ट्रनिर्माता वा तानाशाह जसरी अथ्र्याए पनि उनले दिएको दिव्योपदेश भने आजपर्यन्त सान्दर्भिक मानिन्छ”, राप्रपा नुवाकोटका नेता विष्णुप्रसाद सापकोटाले भने ।

दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने लिखु गाउँपालिका ढिकुरे नुवाकोटका इतिहास जानकार यादवप्रसाद पाण्डे बताउछन् । “यो दिवस नेपाल प्रज्ञा–प्रतिष्ठान वा एकदुई सङ्घसंस्था र व्यक्तिले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ” उनी भन्छन्। दिव्योपदेश नयाँ ढङ्गबाट अध्ययन गर्नुपर्नेमा उनको जोड छ ।

सोभियत सङ्घका एक इतिहासकारले ‘इतिहासले कसैलाई कुनै पाठ सिकाउँदैन तर जसले इतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैंँ दण्ड मात्र दिइरहन्छ’ भनेझैंँ नेपालमा पनि सो भनाइ लागू हुने नुवाकोटका अर्का बुद्धिजीवी श्रीराम श्रेष्ठको भनाइ छ । “राष्ट्रप्रति वफादार कुनै पनि नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक र राष्ट्रका निर्माता पृथ्वीनारायणलाई आदर गर्दै आइरहेका छन्”, श्रेष्ठले भने ।

“दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा भइरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ”, भट्टको ठहर छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको र सत्य र आवश्यकताको गुदी कुरा यसमा रहेकाले यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, सङ्घीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायणलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेको सापकोटाको आरोप छ ।

नेपाली भूभाग हिमाल, पहाड, तराईमा बस्ने १२५ जातजाति र १२३ भाषाभाषी नेपाली हुन् । उनीहरूबीचको एकता नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्थकता भएको अधिकारीले बताउछन् । “नौ धर्म सम्प्रदाय भएका दुई करोड ६५ लाख नेपालीको साझा फूलबारी नेपालमा भावनात्मक एकीकरणको खाँचो छ । यो पूरा भएपछि नेपाल सुन्दर, शान्त, विशाल, शक्तिशाली र समृद्धशाली हुनेछ ” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.