प्रतिष्ठा र प्रतिफल बढाउँदै एनएमबि बैंक, पुराना बैंकलाई उछिन्दै बढी लाभांश दिनेमा तेस्राे

  २०७५ पुष २५ गते १९:५०     मञ्जरी पाैडेल

काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान अवार्ड । यस्तो सौभाग्य पाउने बैंक हो एनएमबि बैंक ।

नेदरल्याण्डको एफएमओ मार्फत बैंकले अन्तराष्ट्रिय पूँजी, प्रबिधि र वर्किङ कल्चर समेत प्राप्त गरिरहेको छ ।
बैंकको प्रतिफल पनि राम्रै छ । एनएमबिले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्दैछ । जसमा १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ । पुस २६ गतेको साधारण सभाबाट पारित भएपछि एनएमबिका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने छन् ।

८ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकले ३० प्रतिशत नगद लाभांश दिनुलाई चानचुने भन्न मिल्दैन । वाणिज्य बैंकहरूमा बढी लाभांश दिनेमा एनएमबि यस वर्ष तेस्राे स्थानमा छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट र दाेस्राेमा नविल बैंक रहेका छन् । यसवर्ष प्रस्ताव गरिएको ३० प्रतिशत लाभांशमा एफपिओ बिक्रीबाट प्राप्त गरेको आम्दानीको हिस्सा पनि जोडिएको छ ।

एनएमबि बैंकले गत जेठमा प्रिमियम मूल्यमा प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार कित्ता फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गरेको थियो । जसबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो ।

एफपीओमा सेयर पाउनेले अघिल्ले आर्थिक बर्षकाे नाफाबाट १५ प्रतिशत बोनस सेयर पाएका छन् । १५ प्रतिशत बाेनस सेयर लिएकाे छ महिना नवित्दै फेरी १० प्रतिशत बाेनस सेयर र २० प्रतिशत नगद लाभांश पाउँदैछन् ।

११० वटा शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर र ९६ वटा एटीएम नेटवर्कले बैंकको पहुँच र व्यवसायलाई फराकिलो बनाईरहेको छ । बाणिज्य बैंकका शाखाहरु नपुगेका स्थानीय तहरुमा केन्द्रिय बैंकको निर्देशनपछि पुगेको बैंकले आक्रामक बजार विस्तारको रणनीति बनाएको देखिन्छ । बैंकले चालु आर्थिक वर्षकाे पहिलो त्रैमासमा आफ्नो नाफा ५५ करोड पुर्याएको छ । उक्त रकम अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा करिब २० प्रतिशतले बढी हाे ।

चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड रुपैयाँ संचित भएको छ ।  त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.७६, कस्ट अफ फण्ड ७.३८ र कर्जा निक्षेप अनुपात(सिसिडी) ७८.३१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.६८ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा छ ।

बैंककाे पर्फमेन्स राम्राे भएपनि सेयर मूल्य भने घटेकाे छ । २०१८ जनवरी १० मा प्रतिकित्ता ४५४ रुपैयाँ रहेको बैंकको सेयर मूल्य २०१९ जनवरी ९ मा प्रतिकित्ता ३२६ रुपैयाँमा झरेको छ । तर याे घटाइ समग्र बजारकाे घटाइकाे तुलनामा खराव हाेइन ।

हाल बैंकको अध्यक्षमा पवनकुमार गाल्यान रहेका छन् । बैंकको संचालक समितिमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट हरिश्चन्द्र सुबेदी, हरिबाबु न्यौपाने, स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे र वैकल्पिक सञ्चालकमा संस्थापक सेयरधनी एफएमओको तर्फबाट नन्दकिशोर रथी रहेका छन् । प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.