काभ्रेपलान्चोकको ऐतिहासिक सम्पदा पुनःनिर्माणमा ढिलाई

  २०७५ पुष २५ गते ११:४०     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ ।

भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए । पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् ।

दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ । विभागका अनुसन्धान अधिकृत मोहनसिं लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकास हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको बताएका छन् ।

कलात्मक झ्याल, ढोका र थाम बनाउन कालीगढ नपाउँदा निर्माणमा समस्या भएको र निर्धारित समयमा निर्माण गर्न मुस्किल रहेको अधिकृत लामाले जानकारी दिएका छन् ।

पुनःनिर्माण गर्ने अवधि दुई वर्ष मात्र बाँकी रहेको यस समयमा भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सङ्घीय सरकारले गर्दै आएको हुँदा विभागले केन्द्रीयस्तरबाटै सम्पदा पुनःनिर्माणका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गर्ने गरेको छ । जिल्लाका बाँकी सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएको जनाएका छन् ।
सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमा नै गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी लीला लामाको भनाइ रहेको छ । उनका अनुसार फरक–फरक कालीगढ र निर्माण सामग्री तथा कच्चा पदार्थ प्रयोग गर्नपर्ने अवस्था रहेको बताएका छन् । हाल नमोबुद्धस्थित बौद्धचैत्य परिसरमा रु ७४ लाखको लागतमा दुईतले सत्तल निर्माण भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.