करिब ९० प्रतिशत भटमास आयात, व्यावसायिक खेती प्रवद्र्धनकाे तयारी

  २०७५ पुष २४ गते १५:५४     विकासन्युज

काठमाडौँ । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताउँदै किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने नरोप्ने जानकारी दिएका छन् । भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गरेका छन्र ।

भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो । किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ ।

निर्देशनालयले मुख्य बालीको प्रवद्र्धनसँगै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालय मार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालनमा ल्याउन पर्ने जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.