निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित, न्यायाधीश सामु के के भने ?

  २०७५ पुष २४ गते १४:१३     विकासन्युज

टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ ।

गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

“मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भने । न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उनी दृढ र शान्त देखिएका थिए । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।”

सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ ।

वकिलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए । उनले आरोपहरुमाथि प्रतिवाद गर्दै भने, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।”

“आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उनले अदालतमा भने ।

विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चहरुमा वक्ताका रुपमा रहने गर्थे । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो ।

गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् । जापानमा शंकास्पद व्यक्तिहरुलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ ।

मङ्गलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकिल गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उनले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।”

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए । उनले भने, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।” रासस\एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.