टेलिकमका प्रबन्ध निर्देशकले सम्हाले कार्यभार, यस्ता रहेछन् सुधारका योजना

  २०७५ पुष २३ गते १६:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । अधिकारीलाई सरकारले पुस १९ गते ३ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।
उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान पनि गरे ।
उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने स्पष्ट पनि पारेका छन् ।

उनले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए । त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनले तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरे । उनले २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.