१ करोड ९५ लाख प्रयोगकर्ता भएकाे टेलिकम हाँक्ने जिम्मा डिल्लीराम अधिकारीलाई

  २०७५ पुष २२ गते २०:४८     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । संगीता पहाडी अर्याल, र बुद्धिप्रसाद आचार्यलाई पछि पार्दै अधिकारीले टेलिकम हाँक्ने जिम्मा पाएका हुन् ।

अधिकरी हाल टेलिकममै दशौं तहमा कार्यरत थिए । अधिकारीले प्रबन्ध निर्देशकको जिम्मा पाएको अधिकारी निकट स्रोतले पुष्टि गरेको छ ।

प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी आचार्य गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषदमा पेश भएको थियो ।

सञ्चार तथा सूचना मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् ।

समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले अधिकरीलाई टेलिकम हाक्ने जिम्मा दिने तयारी गरेकाे हो।

गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो ।

नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।

हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल टेलिकम प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.