‘अब पूँजी बजारको भविष्य उज्वल हुनेछ’

  २०७५ पुष १९ गते ९:४१     विकासन्युज

काठमाडौं । ‘नेप्सेको इन्डेक्स तत्कालका लागि बढ्ने वा घट्ने कुरा गौण हुन तर अब पूँजी बजारको भविष्य उज्वल हुनेछ ।’, यो भनाई हो सेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालको । अर्यालले मात्रै होइन, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि दिर्घकालिन रुपमा सेयर बजारको भविष्य सुन्दर रहेको बताए ।‘पूँजी बजारका लागि यो सरकारले पोलिसीमा हिट गरिहेको छ । मार्जिन ल्याण्डिङ, सेयर कर्जाको जोखिमको भार घटाउने कुरा, बैंकलाई ब्रोकर लाइसेन्स, बैंकको ब्याजदरमा नियमन आदि कुराले सेयर बजारको दिर्घकालिन विकासमा महत्व राख्छ ।’, रौनियारले भने ।

सेयर बजारका लगानीकर्ताको मनोवल गिरेहको अवस्थामा बजार सुधारका लागि नियामकहरुले देखाएको अग्रसरताले दिर्घकालिन प्रभाव राख्ने उनीहरुले स्विकार गरेका हुन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले पनि सेयर बजारका लागि नियामक निकायहरुले चालेका पछिल्ला कदमहरु सकारात्मक रहेको बताए । ‘यी कदमहरु केहि समय पहिले नै चालिनुपर्ने थियो, ढिलै भए पनि सरकारको आँखा खुलेको छ, यसले पुँजी बजारमा तत्काललाई राम्रो गर्छ, दिर्घकालका लागि भने यसको निरन्तरताले महत्ज राख्छ’, ब्रोकर एसोसियसनका अध्यक्ष रानाभाटले भने ।

रौनियारले अब नेप्से र सिडिएसले पनि आफ्नो जिम्मेवारीको काम तुरुन्तै अघि बढाउनुपर्ने धारणा राखे । उनले पुँजी बजारका लागि अनलाइन कारोबारमा देखिएका समस्याहरुको तत्काल समाधान अपरिहार्य भएको पनि बताए । ब्रोकर कमिसन घटाउने सकारात्मक भएको बताउँदै अब पूँजी बजारका सबै नियामकहरुले एकद्धार प्रणाली अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

समग्र उद्योगी व्यवसायीको मनोबल गिरिरहेको अवस्थामा सरकारले पूँजी बजार मार्फत परिवर्तनको संकेत देखाएको रानाभाटले बताए ।
अर्यालले पूँजी बजारका कारण सरकारलाई गाली गर्ने क्रम अहिलेका लागि भने समाप्त भएको दावी पनि गरे ।‘सरकारलाई गाली गर्नु हाम्रो बाध्यता थियो, अब एनआरएनहरुलाई पूँजी बजारमा भित्र्याउनुपर्छ’, अर्यालल भने ।

अर्थमन्त्रालयले मुद्रा तथा पूँजी बजार सम्बन्धमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदन अनुसार केन्द्रिय बैंकले लगानी योग्य पूँजी अभावको समाधानका लागि सहुलियत दिएको छ । त्यस्तै, पूँजी बजारका लागि सेयर धितो कर्जाको सिमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको छ ।

त्यस्तै, सेयर कर्जाको जोखिम भार पनि १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।  धितोपत्र बोर्डले पनि प्रतिवेदन अनुसार सुधारका काम अघि बढाईसकेको छ । बोर्डले नेप्से र सिडिएसलाई पनि निर्देशन दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.