नगरपालिकाले चलायो नगर बस, अरु यातायातभन्दा २५ प्रतिशत सस्तो

  २०७५ पुष १६ गते १६:१०     विकासन्युज

डोटी । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे ।

नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ ।

नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ ।

यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.