सिन्धुलीको प्रादेशिक महोत्सवमा जुनार उद्योगको खोजी, जवाफ कसैले दिएनन्

  २०७५ पुष १४ गते २१:१७     विकासन्युज

कमलामाई । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सिन्धुलीमाढीमा प्रादेशिक महोत्सव २०७५ शुरु भएको छ । पुस २२ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन् ।

महोत्सव उद्घाटन गर्न विहान पाँच बजे नै उठेर सिन्धुली हुईकेका अर्थमन्त्री उद्घाटन कार्यक्रममा धैर्यपूर्वक मध्यान्न १२ बजेदेखि ४ मञ्चमा बसेका थिए । पत्रकार महासंघ सिन्दुली शाखाका अध्यक्ष, नगरपालिकाका मेयर, प्रदेश र केन्द्रका सासद्हरु, पूर्वसांसद्हरु, प्रदेशका मन्त्री, पूर्वमन्त्रीहरु, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरु सहित करिव २ दर्जन वक्ताहरुको आलोचना र सरकारसँगको माग सुनेपछि अर्थमन्त्री खतिवडाको बोल्ने पालो आएको थियो ।

उनले सरकारले राम्रा काम गरेको तर आलोचना गर्नेहरु धेरै भएको बताए । सरकारले गरेका राम्रा कामको पक्षमा बोलिदिने मान्छेको अभाव भएको उनको भनाई छ । २० मिनेट बोलेका अर्थमन्त्रीले सरकारले गरेका राम्रा कामको चर्चा सँगै सिन्धुलीको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा सरकारले थालेका र शुरु गर्ने सोच बनाएका कार्यक्रमको बारेमा बताए ।

अर्थमन्त्री खतिवडाले राम्रो मन्तव्य राखेको थिए तर ताली बजाउने मान्छे ज्यादै कम भईसकेका थिए । पुसको दिन, साँझ पर्न लागेको थियो । उद्घाटन कार्यक्रमको शुरुमा हजारौ विद्यार्थीले चौर भरिए पनि अर्थमन्त्री बोल्ने बेलामा टाडा टाडाका स्कूलबाट ल्याइएका विद्यार्थीहरु घर फर्किसकेका थिए । चौर खाली भैसकेको थियो ।

‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेशको आधार’ भन्ने नाराको साथ आयोजना गरिएको प्रादेशिक महोत्सवमा बक्ताहरुले सिन्धुलीको ऐतिहासिक महत्वको बारेमा बढी चर्चा गरे । सिन्धुलीमा कृषि, पर्यटन, जलस्रोत, उद्योगको सम्भावना धेरै भए पनि त्यसको विकासतर्फ खासै काम हुन नसकेको उनीहरुले बताए ।

एक जिल्ला एक उत्पादन अन्तरगत सिन्धुलीमा खोलिएको जुनार प्रशोधन गर्ने उद्योग समेत नचलेको अधिकांश वक्ताले दुःख व्यक्त गरे । उद्योग वाणिज्य महासंघको वरिष्ठ सदस्य चण्डिराज ढकालले सिन्धुलीमा जुनार प्रशोधन उद्योग ल्याउन आफूले धेरै मिहेनत गरेको स्मरण गर्दै उक्त उद्योग कसरी सुचारु गर्न सकिन्छ भनेर स्थानीय समुदाय अगाडि आउनुपर्ने बताए । उक्त उद्याेगकाे बारेमा धेरैले चासाे राखे तर जवाफ कसैले दिएनन् ।

उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु वातावरण राम्रो भएमा सिन्धुलीमा लगानी गर्न लगानीकर्ता आउने बताए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने–‘यस मञ्चमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिहरु हुनुहुन्छ । लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति र कार्यक्रम बनाउनुहोस्, निजी क्षेत्रले लगानी गर्छ । रोजगारी सिर्जना गर्ने, आय आर्जन बढाउने कार्यको जिम्मेवारी निजी क्षेत्रले निर्वाह गर्छ ।’

प्रादेशिक महोत्सव भनिए पनि कमलामाइको प्रदर्शनी चौरमा २५० वटा स्टलहरुले प्रादेशिक प्रतिनिधित्व गरेको देखिन्न । प्रदर्शनीमा स्थानीय कृषि, घरेलु उत्पादन, हस्तकलाका सामाग्री, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनका स्टलहरु राखिएको छ । मेलामा २५० वटा स्टल भएको, प्रतिस्टल भाडा १५ तोकिएको तर केहीले तोकिएभन्दा १÷२ हजार कममा पनि स्टल बुक भएको संघका अध्यक्ष अम्रेशचन्द्र बैद्यवारले बताए । स्टलबाट करिब ३५ लाख रुपैयाँ उठ्ने र टिकटबाट पनि करिव ३५ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘आम्दानी जति धेरै खर्च पनि त्यति धेरै’ उनले भने । मेलामा स्टल राख्नेको व्यापार पनि राम्रो हुने उनको भनाई छ ।

महोत्सवमा व्यापार प्रवद्र्धनका साथै कला र संस्कृतिको प्रवद्र्धन हुने, विकासको बारेमा हुने वहस हुने, नीति तथा कार्यक्रम बनाउन समेत सहयोग पुग्ने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.