आयल निगमकाे कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिष्टमा

२०७५ पुष १३ गते २१:३९ विकासन्युज

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् ।

निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो ।

छनोट हुनेमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेल रहेका छनोट तथा सिफारिश समितिले जनाएको छ । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । तीमध्ये निगमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना पेश गर्ने योग्यतम् उम्मेदवारलाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिश गरिनेछ । निगमको डिपोका लागि जग्गा खरीद प्रक्रियामा भएको अनियमितापछि सरकारले पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको थियो । (रासस)