अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

  २०७५ पुष १२ गते १४:५८     विकासन्युज

काठमाडौं । अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने भएको छ । उक्त सेवाको लागि मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । साथै, साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक पाउने छन् ।

कार्यक्रममा खल्तीका निर्देशक अमित अग्रवालले अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्ने बताएका छन् ।

त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले अब फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । साथै, साझेदारीको फल स्वरुप फुडमान्डुका ग्राहकहरुले काठमाडौं र ललितपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्ने बताएका छन् ।

छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.