साँसदले खानेपानी मन्त्रीलाई सोधे-मेलम्चीमा कमिशन माग्ने को हो ?

  २०७५ पुष १२ गते १३:०७     विकासन्युज

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले काम गर्ने कि छोड्ने भन्ने अन्यौलता कै बीच कमिशनको कुरा उठ्न थालेको छ ।

मेलम्ची अब के हुन्छ ? कहिले आउँछ मेलम्चीको पानी ? यी प्रश्नहरु उठिरहेका बेला प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मेलम्ची खानेपानी आयोजनको विद्यमान अवस्थाको बारेमा छलफल भएको छ ।

सो बैठकमा मेलम्चीमा कमिशनको बारेमा कुरा उठेको छ । छलफलमा विकास समिति सभापति कल्याणी खड्काले आफैँ बनाउने भनेको केही दिन पछि फेरि उसैले बनाउँछ किन भनेको भनी खानेपानी मन्त्री बिना मगरलाई प्रश्न गरेकी थिइन् ।

सभापति खड्काले भनिन्–अब कहिले आउँछ मेलम्ची भन्दिनुस् । बरु केही समयपछिको मिति तोक्नुस् तर भनेको मिति एकिन होस् ।
अर्कोतर्फ निर्माण कम्पनी सिएमसीलाई भुक्तानीको कुरा के हो ? यसको जवाफ चाहियो–सभापति खड्काको प्रश्न थियो ।

सो छलफलमा साँसद राजेन्द्र लिङ्देन भने–कमिशनको कुरा उठाए, कम्पनी लाखौं दिन तयार थियो रे, तर करोडौंको कुरा आएपछि ठेक्का तोकेको रे । यो कुरा नागरिकसम्म पुगिसकेको छ । कमिशन माग्नेलाई कारवाही गर्नु पर्छ–उनले भने ।

मेलम्ची प्रकरणमा विकास समितिले छानबीन समिति बनाउनु पर्ने कुरा उनले उठाएका थिए ।

समितिको बैठकमा पूर्व प्रधानमन्त्री तथा साँसद भलनाथ खनालले मेलम्ची आयोजनाको इतिहास सुनाएका थिए । यो आयोजना ३ दशक देखिको आयोजना हो । मन्त्रीलाई थाहा रहेनछ–उनले भने ।

खनालले मेलम्ची आयोजना पञ्चायतमा सोचिएको आयोजना भएको बताए । मेलम्चीले प्रजातन्त्र र गणतन्त्र काल भोगिसक्यो । अझै बनेको छैन । मन्त्रीले राम्रो नेतृत्व दिन सक्नु भएन–उनले छलफलमा भने । अब आफैँ बनाउन सकिन्छ कि नाई ? उनको प्रश्न थियो ।

विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.