८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली जडान, जोखिमबाट बचाउन सकिने नाष्टको दाबी

  २०७५ पुष ११ गते १७:३९     विकासन्युज

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए ।

“सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ”, ढकालले भने, “नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।”

भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए ।

यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो । ढकालले भने, “नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्र्ने प्रतिबद्धता प्राप्त भएको छैन ।”

चाइनिज लाइफ इन्सुुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो । यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.