नेपालमा अवसर नै छैन भन्ने होइन, गर्नेले यहीँपनि राम्रो गरिरहेका छन्ः सबिन्द्र महर्जन

  २०७५ पुष ११ गते १४:१०     विकासन्युज

सबिन्द्र महर्जन, प्रमुख कार्यकारी अधिकृत-आईआईएमएस कलेज

काठमाडौं। सन् १९८० जनवरीमा जन्मेका सविन्द्र महर्जनले आफ्नो विद्यालय तहको शिक्षा कीर्तिपुरको पुष्प सदनबाट पूरा गरे । नेशनल कलेजबाट प्लस टु गरेका उनले सन् २००३ मा नेपाल इन्जिनियरिङ् क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ्को अध्ययन पूरा गरे । त्यही सालबाट विभिन्न कलेजहरुमा आईटी पढाउन सुरु गरे । ६ वर्षको शिक्षण पेसापछि उनी २००९ मा माष्टर इन सफ्ट्वेयर इन्जिनियरिङ् कोर्ष अध्ययनका लागि स्वीडेन गए ।

उनले २०१० मा आईआईएमएस कलेजको स्थापना गरे । पुतलीसडकमा रहेको यस कलेजमा बीसीए, बीएससी सीआईटी, एमबीए, बीआईटी, बीएचएम, बीबीए गरी जम्मा ६ वटा कोर्स पढाई हुने गर्दछ । १२०० विद्यार्थी रहेको कलेजमा ५० को हाराहारीमा पूर्णकालीन कर्मचारी कार्यरत छन् । आंशिक कर्मचारीको संख्यामा पनि ५० कै हाराहारीमा छन् ।

कलेजकाे समग्र अवस्था सहित शैक्षिक क्षेत्रका विविधि विषयमा बिकासन्यूजका लागि डोमी शेर्पाले कलेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ ) सबिन्द्र महर्जनसँग गरेको अन्तरवार्ता:

अहिले विद्यार्थीहरुले अत्याधिक मात्रामा कुन विषय रुचाएका छन् ?

अहिलेको बजारमा हेर्ने हो भने एकदम बढी स्कोप भएको र सदाबहार विधार्थीहरुद्वारा रुचाईएको बिषयमा म्यानेजमेन्ट अन्तर्गत बीबीए रहेको छ। पहिले देखि नै अत्याधिक बिधार्थीले आफ्नो प्राथमिकतमा यस बिषयलाई राखेका पाईन्छ । त्यस बाहेक अहिलेको समयमा आएर विद्यार्थीको अर्को प्रिय बिषय सूचना प्रबिधि (ईन्फरमेसन टेक्नोलोजी) अर्थात आईटी रहेको छ । हस्पिटालिटी म्यानेजमेन्टतर्फ पनि विधार्थीहरुको रुची बढ्दो छ । हस्पिटालिटी म्यानेजमेन्ट अहिले विद्यार्थीको छनोटमा पर्नको कारण हाम्रो देशको सांस्कृतिक विविधता, पर्यटन ब्यवसाय रहेको छ । नेपालमा जस्तो हस्पिटालिटी म्यानेजमेन्ट पढ्नलाई उपयुक्त देश कुनै पनि छैन।

तपाईंहरुको कलेजबाट पास भएर जाने विधार्थीहरुको लागि बजार चाहीँ राष्ट्रिय हो कि अन्तराष्ट्रिय ?

बजार राष्ट्रिय कि अन्तराष्ट्रिय छान्ने भन्ने सर्वप्रथम त विद्यर्थीमा निर्भर रहन्छ। यो उसको ईच्छा, चाहना र सपनामा भरपर्छ। हरेक मानिसको आ–आफ्नो चाहना हुन्छन् । त्यसलाई ध्यानमा राख्दै हामीले दुईतर्फी बजार भएको बिषयहरु पढाईरहेका छौ। अहिलेको अवस्थामा  नेपालमापनि अवसर एकदम राम्रो रहेको छ। जस्तैः आईटी कोर्स पढ्नुहोस्, तपाईँले मज्जले यहाँकै सूचना प्रविधि कम्पनीमा राम्रो जागिर पाउनुहुन्छ । किन भने यहाँको आईटी कम्पनीलाई एउटा राम्रो आईटी स्टाफ पाउनपनि गार्हो छ। त्यस्तै हस्पिटालिटीमा पनि यहाँ सँगसँगै बाहिर पनि उत्तिकै माग रहेको छ।

तर, अहिले अत्याधिक विधार्थी बाहिर जान मन पराउँछन् । यसलाई ट्रेन्ड भन्ने कि खै के भन्ने । बाहिरको सुविधा र पैसा देखेर धेरै मानिसहरु लोभिन्छन् र विदेशी भूमिलाई आफ्नो गन्तव्यको रुपमा चुन्छन् । देशमा यति अवसर छ, तर विद्यर्थीहरु अन्धो भएका छन् ।

विधार्थीहरु राम्रो अवसरको लागि बाहिर जान्छन् कि यहाँ न्युनतम अवसर पनि नपाएर जान्छन् ?

मेरो बुझाई अनुसार राम्रो अवसर विदेशमा पक्कैपनि छ । तर नेपालमा अवसर नै छैन भन्ने होइन, गर्नेले नेपालमै पनि राम्रो गरिरहेका छन् । तर , अहिलेको ट्रेण्ड हेर्ने हो भने विदेश जाने फेशन जस्तै भएको छ । विदेशमा बसेका साथीभाइ तथा आफन्तहरुको लवाइखवाइ र उनीहरुको  नेपालमा बसेर काम छैन बाहिर जार्नै पर्छ भन्ने भावनाले गर्दा अहिलेको समाज अत्याधिक प्रभावित भएको छ । जसको कारणले गर्दा दिनहुँ विदेश जाने विधार्थीको संख्या बढ्दो छ। नेपालको राजनीतिक अस्थिरता र दिनहुँ हुने बन्द, हडताल र काम पाउनका लागि चाकडी गर्नुपर्ने अवस्थाका कारण अत्याधिक विद्यर्थीहरु बाहिरिनुको अर्को कारण हो ।

मानिसहरु नेपालमा मेहनत गर्न चाहदैनन, बाहिर गरिने काम उनीहरुलाई नेपालमा गर्न लाज लाग्छ । मानिसहरु सजिलो खोज्छन् आफुले सिर्जना गरेर केही नयाँ नेपाल मै गर्न चाहदैनन् । यो धारणालाई बदल्न हामी सबै जना लागि पर्न जरुरी छ।

प्लस टु पछी यसपाली मात्र अत्याधिक विधार्थीहरु बाहिर गएको पाईएको छ, जसको कारणले कलेजहरुलाई  विधार्थी पाउन मुस्किल भईरहेको छ।

तपाईंहरु पूर्णरुपमा टेक्निकल बिषय पढाउनुहुन्छ ? करियर काउन्सिलिङको पाटो के छ तपाईंहरुकोमा ?

करियर काउन्सिलिङको पाटो हामीले पूर्ण रुपमा निभाएका छौँ । हामी विधार्थीहरुलाई त्यही तहको शिक्षा कम दरमा पढाईरहेका छौँ । हामी हरेक सेमेस्टरमा विभिन्न विश्वविद्यालयबाट शिक्षाविद्हरु ल्याएर करियर काउन्सिलिङ दिन्छौं । भोलि गएर नेपालमा अथवा विदेशमा गएर के गर्ने भन्ने कुराको बारेमा मुख्य ध्यान दिन्छौँ ।

तपाईंहरुले जस्तै अध्ययन गराउने कलेजहरुको भिडमा चिनाउन पर्दा तपाईं आफुहरुलाई कसरी चिनाउनु हुन्छ ?

काठमाण्डौ भ्याली भित्रका अन्य कलेजहरुसँग दाँज्ने भन्दा पनि हामी आफुले आफुलाई दाँज्न अझ मन पराउँछौ। हामीले सबैभन्दा पहिला यहाँसम्म पुग्नको लागि धेरै मेहनत गरेका छौ, विधार्थीहरुलाई एउटा अभिभावकले जसरी माया गरेर राखेका छौँ । कमसेकम उनीहरुलाई पढ्दा समस्या नहोस् भनेर हरेक सुविधाहरु उपलब्ध गराएका छौँ । यहाँका हरेक विद्यार्थीहरु हाम्रो परिवार सरह छन् ।

अहिलेको आईएमएसले पनि बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ र यो एउटा राम्रो ब्रान्डको रुपमा स्थापित भएको जस्तो हामीलाई लाग्छ । गुणस्तरको आधारमा हामी आफुलाई नेपालको सबैभन्दा राम्रो कलेज त भन्दैनौ, तर पक्कैपनि नेपालको राम्रो कलेजमा भने हामी गनिन्छौ नै ।

 बजारमा धेरै विकल्पहरू छन्, त्यसो हो भने एउटा विधार्थीले किन आईएमएस छान्ने ?

अवश्यपनि बजारमा बिकल्पहरु धेरै नै छन् र यस कुरालाई हामी नकार्न सक्दैनौ। किन आईआईएमएस भन्ने प्रश्नमा म के भन्न चाहन्छु भने यदी कोही विद्यार्थी हस्पिटालिटी अथवा टेक्निकल बिषय पढ्न चाहन्छन् भने उनीहरुले यो बिषय कलेज गएर आएर घरमा पढ्छु भनेर हुँदैन । यसको लागि व्यावहारिक ज्ञान नभई हुँदै हुँदैन। त्यस कोर्स पढ्नलाई जुन तरिकाको व्यावहारिक ज्ञान आवश्यक हुन्छ त्यो हामी प्रदान गर्छौ जस्तै हरेक हप्ता हाम्रो कलेजमा केही न केही व्यावहारिक ज्ञानका कार्यहरु भईरहेको हुन्छ। हामी सैद्धान्तिक अध्ययनमा मात्र ध्यान दिदैनौं, विधार्थीहरुलाई राम्रो एक्सपोजर पनि प्रदान गर्छौ ।

हरेक हप्ता हाम्रो कलेजमा पढाई बाहेक केही न केही भईरहेको हुन्छ। सुलभ शुल्कमा पढाई सँगसँगै व्यक्तित्व विकासको लागि विद्यार्थीहरुले आईआईएमएसलाई रोज्न सक्छन्।

हरेक कलेजले पढाउन चाँही पढाउँछन् तर व्यावहारिक ज्ञानमा जति एक्स्पोजर दिन्छु भन्छन् त्यती दिदैनन्, यसबारेमा के भन्नुहुन्छ ?

होटल म्यानेजमेन्ट र आईटी प्राक्टिकल बिना पढाउन असम्भव छ। हाम्रो होटल म्यानेजमेन्टको कोर्स जुन विश्वविद्यालयबाट मान्यता प्राप्त छ, त्यस विश्वविद्यालयमा भएको यो कोर्ष मूल्याङ्कनको आधारमा पढाईने कोर्ष हो । अब त्यसमा तपाईंको रिसर्च, प्रोजेक्ट, फिल्ड वोर्क, प्राक्टिकल नगरी सुख नै छैन।  यती मात्र नभएर गेस्ट प्रोफेसरहरुपनि हामी समय समयमा बोलाउँछौ। बाहिरबाट कम्पनीहरुको उच्च तहको सीइओ, म्यानेजरहरु बोलाएरपनि हामी विद्यार्थीहरुलाई उनीहरुको अनुभवको बारेमा जानकार गराउँछौ, जसले गर्दा उनीहरुलाई पनि आगामी दिनमा समयसँग अघि बढ्न सजिलो हुन्छ ।

हस्पिटालिटी बिषयमा प्राक्टिकल गराउने जुन ठूला ल्याबहरु चाहिन्छन्, त्यस्ता ल्याबहरु यहाँ उपलब्ध छन् । एउटा फाईभ स्टार होटलमा जुन किचेन हुन्छ, त्यस्तै खालको किचन हाम्रोमा छ। जुन सामाग्रीहरु उनीहरुले प्रयोग गरिरहेका हुन्छन् त्यो हामीले यहाँपनि प्रयोग गर्छौ । हाम्रो कोर्षको माग अनुसार हामी नियमित रुपमा विधार्थीहरुलाई होटलहरु लैजाने गर्छौ।

हाम्रा विद्यार्थीहरुले एकेडेमिक कोर्ष मात्र नभएर ईएलई भन्ने कोर्ष पढ्नु पर्ने हुन्छ। त्यो कोर्ष १ बर्षको हुन्छ जसमा विद्यार्थीले १०० पोईन्ट्स संकलन गर्नुपर्ने हुन्छ। अनि एकबर्षमा यती अंक संकलन गर्नलाई विधार्थीले ७–८ वटा ईभेन्ट गर्नुपर्ने हुन्छ। यसरी काम गर्दा विधार्थीहरुले धेरै सिक्ने गर्छन् र आगामी दिनमा उनीहरुलाई बजारमा गएर भिड्न सक्षम हुन्छन्।

एउटा अहिले लहर चलेको छ, हाम्रोमा आउनुहोस् टप गर्नुहोस् हामी तपाईंको जागिर पक्का गर्नेछौं, के यो संभव छ ?

हामी जागिर पक्का भनेर भन्दैनौं, तर यहाँ  आएर पढेपछी हामी सक्षम बनाउँछौ भने हामी अवश्य भन्छौँ। एउटा सक्षम मानिसले जागिरको लागि त्यती दुःख गर्नु पर्दैन भन्ने हाम्रो दर्शन रहेको छ। त्यसैले जागिर दिने आश्वासन हामी दिन्नौ, हामी जागिरको लागि ब्यक्तिलाई सक्षम बनाउँछौ।

के तपाईंलाई पूर्वाधारले विद्यार्थीको पढाईमा सहयोग पुर्याउँछ जस्तो लाग्छ ?

पढ्नको लागि वातवारण र पूर्वाधार राम्रो हुन एकदम जरुरी छ। हरेक कक्षाकोठामा मल्टीमिडियादेखी लिएर एसी हुन आवश्यक रहेको हामीले देखेका छौँ । गर्मी महिनामा पसिना निकाल्दै पढ्नु र राम्रो तापक्रम र वातवरणमा पढ्दा बेग्लै किसिमको आनन्द आउँछ।

कक्षाकोठाको संरचना पनि थिएटर शैलीको विधार्थीको संख्या नि ठिक्क राख्दा विधार्थीलाई धेरै मद्दत हुने गर्दछ। संरचना नमिलेको कक्षाकोठा र धेरै संख्यामा विद्यार्थीले अध्ययनमा असर गर्ने गर्दछ। त्यस्तै कक्षाकोठामा आवश्यक मल्टीमिडियाहरु उपलब्ध हुँदा विधार्थीको ज्ञानको सीमा किताबभित्र मात्रा रहदैन।

त्यसैले मलाई लाग्छ कि विद्यार्थीको पढाईमा राम्रा पूर्वाधारले निकै सहयोग पुर्याउँछ। त्यही कुरालाई ध्यानमा राख्दै हामीले आईआईएमएसका हरेक कक्षाकोठालाई विधार्थीलाई चाहिने पूर्वाधारबाट पूर्ण गराएका छौँ ।

कस्तो छ तपाईंहरुको शुल्क संरचना कस्तो छ ?

हाम्रो सुल्क संरचना नेपाली बजारलाई हेरेर सबैलाई उचित हुने शुल्क राखेका छौं । जस्तै हाम्रोमा आईटी विधार्थीले  ६ लाखमा पढ्न सक्छन्, जुन अन्य विश्वविद्यालयमा धेरै महँगो हुने गरेको छ। हाम्रोमा भएको हरेक कोर्स ६–७ लाखको हाराहारीमा विद्यार्थीहरुले पढ्न सक्छन् ।

नेपालमा शिक्षाको अवस्था कस्तो रहेको छ ?  

नेपालको शिक्षा प्रणाली बिकास भईरहेको अवस्थामा छ। हामी पास हुनको लागि पढ्छौ, केही अध्ययन गर्न, सिक्न, जान्नको लागि हामी पढ्दैनौ । फाईनल परीक्षा छ, यती अंक ल्याउनु पर्छ भन्ने होडबाजीमा हामी पढ्छौ। तर, अहिले यो बिस्तारै बद्लिदै छ। अहिलेको जमाना पास गर्ने भन्दापनि कौशल उन्मुख ब्यक्ति चाहिन्छ। तर, अझैपनि धेरै मानिसहरु त्यही पुराना धारणालाई अंगालीरहेका छन् । यसलाई बदल्न जरुरी छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.