रिपोटर्स क्लवमा हृदेश त्रिपाठी गरे अर्थमन्त्री माथि आक्रमण, २०३४ सालदेखि अहिलेसम्म समस्या उस्तै

  २०७५ पुष ७ गते १७:४९     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीको बारेमा धेरै आलोचना भईरहेको छ । यसै क्रममा तत्कालिन एमालेको चुनाव चिन्ह्रमा निर्वाचमा भाग लिई सांसद बनेको हृदश त्रिपाठीले अर्थमन्त्रीमाथि राजनीतिक आक्रमण गरेका छन् ।
उनले वर्तमान सरकारप्रति जनतामा आक्रोश बढ्नुमा अर्थमन्त्री जिम्मेवार रहेको बताएका छन् । सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद त्रिपाठी अर्थमन्त्री निकै आक्रामक भए । नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको उनको भनाई छ । त्रिपाठीले थपे,‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यैपनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन् ।’

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदैपनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । उनले भने,‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समिक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो । तर, सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको छ। यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ।’

उनले भने, ‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’ अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थमन्त्रालयको गतिविधिमा निर्भर गर्ने उनको भनाई छ । उनले थपे,‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही वेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’

सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मुल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने,‘किसानले आफ्ना उत्पादनको मुल्य निर्धारण गर्न पाउँदैनन् । यसले गर्दा अहिले किसानको दुरावस्था छ । अब तत्काल मुल्य निर्धारणबारे विज्ञसम्मिलित आयोग गठन गर्नुपर्छ ।’

उनले विगत २०३४ सालदेखि यताको तथ्यांक हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशतमात्रै किसानको लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए । सरकार र कुनैपनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे । उनले भने,‘सरकारले कृषिमा जोड गरेको छ । तर, किसानको हितको लागि होईन । यो त नाराको लागि गरेकोजस्तो मात्रै भयो ।’

किसान असंगठित भएकाले दलहरुले प्राथमिकता नदिएको उनको टिप्पणी छ । उनले भने,‘सबैभन्दा ठूलो संख्यामा रहेको किसान वर्ग, जो ६४ प्रतिशत छन्, कांग्रेस र नेकपा दुवैको प्राथमिकतामा किसान परेनन् । यो दुःखदायी कुरा हो।’ कृषिमा विचौलियाका कारण किसान र उपभोक्ता दुवै वर्ग मारमा परेको पनि उनले बताए । किसानहरुले आफ्नो उत्पादनको मुल्य तोक्न पाउनुपर्ने गरि आफूले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गराईसकेको उनले जानकारी दिए ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको दाबी छ । उनले भने,‘चिनी, दुध, चियापत्ति, दाल, चामल, तोरीको तेल, फलफलु, अदुवालगायत अन्य कृषिउपजमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ गत वर्ष नेपालमा ९४ करोडको ‘टम्याटो–सस’ आयात गरिएको तथ्यांक पेश गर्दै त्रिपाठीले नेपालमा भने किसानले टमाटरको उचित मुल्य नपाएर सडकमै फाल्नु परेको दुरावास्था सुनाए ।
किसानको अवस्थामा सुधार नआएसम्म मुलुकको समृद्धि हुनै नसक्ने उनको ठोकुवा छ । उनले भने,‘नेपाललाई समृद्ध बनाउनको लागि पनि किसानको अवस्थामा सुधार ल्याउनुपर्छ । यसको लागि सरकारले अब ठोस कदम चाल्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.