लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

  २०७५ पुष ३ गते १८:१४     विकासन्युज

काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि कुल ३५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्ने छ ।

त्यस्तै, थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ ।

यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविकफलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु साईटसम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको काम हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ । साथै, आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.