चिडियाखानामा संरक्षित जीवजन्तुको मृत शरीरकाे प्रतिकृति निर्माण गर्दै

  २०७५ पुष ३ गते १६:५६     विकासन्युज

काठमाडौं । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ ।

चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी खनालले विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो पटक गर्न लागिएको हो । चिडियाखानामा संरक्षित गरी अवलोकनका लागि राखिएका जनावर मरेमा ती जीवजनावरको भित्री भागलाई फालेर छालाको मात्रै प्रयोग गरी प्रतिकृति निर्माण गरिने छ ।

मृत जनावरको प्रतिकृति बनाउनका लागि स्थान निर्माणको काम भइरहेको छ, केही महीनाभित्र उक्त स्थान निर्माणको काम सम्पन्न हुनेछ । चिडियाखानामा राखिएका जनावर मरेपछि पहिले कस्ता किसिमका जनावर राखिएको थियो भन्ने जानकारी दर्शकले प्रतिकृति मार्फत पाउनेछन् । स्थानको अभाव र सधैँ सबै प्रकारका जनावर नपाउने भएको हुँदा पनि कुन समयमा कुन जनावर सर्वसाधारणका लागि राखिएको थियो, अहिले उक्त जानवर छ कि छैन भन्ने जानकारी अवलोकन कर्तालाई दिनु यसको मुख्य उद्देश्य रहेको चिडियाखानाले जनाएको छ ।

सबै संरक्षित जीवको प्रतिकृति राख्न नसके पनि मुख्यगरी बाघ, भालु, गैँडा,हात्ती,रेड पाण्डा, वन मान्छे, रिङटेल्ड लिमर, मयुँर डाँफे जस्ता जीव जनावरको प्रतिकृति बनाइने छ । टिकटघर नजीकै तय गरिएको उक्त प्रतिकृति स्थल दर्शकले भित्र प्रवेश गर्ने बित्तिकै देख्न पाउनेछन् । हाल चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको छ ।

गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई रु १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ ।

अघिल्लो आर्थिक वर्षमा अवलोकन कर्ताबाट रु १२ करोड आम्दानी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर राणाले आफ्नो निजी प्रयोगका लागि निर्माण गरेको उक्त चिडियाखाना तेइस वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रही व्यवस्थापन हुँदै आएको छ । अहिले चिडियाखानामा ७५ कर्मचारी कार्यरत रहेका छन् । चिडियाखानाले अहिले जीवजनावरलाई गर्नुपर्ने व्यवहार कस्तो हो भन्ने शिक्षा दिनका लागि ‘जुको साथी’ भन्ने कार्यक्रम शुरु गरेको छ ।

जसअन्तर्गत काठमाडौँ उपत्यकाका पाँच सय विद्यालयका ८० विद्यार्थीले साथीका रुपमा रही आलोपालो गरी चिडियाखानामा रहेका जीवजनावरलाई खुवाउने र स्याहारसम्भार गर्ने गरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले बताएका छन् । पछिल्लो समय चिडियाखानाले राति पनि अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । राति अवलोकन गर्दा थप मनोरञ्जन लिन सकिने बाघ, भालुजस्ता १४ स्तनधारी जनावरको अवलोकन गर्न अवलोकनकर्ता आउने गरेका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.