सेयर कारोबार रोक्न अवाञ्छित गतिविधि भएको धितोपत्र बोर्डको भनाई, प्रतिवेदन छिट्टै सार्वजनिक गरिने

  २०७५ पुष ३ गते १३:४१     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार रोक्न अवाञ्छित गतिविधि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । सेयर बजार सम्बन्धि माग राखेर नेपाल स्टक एक्स्चेञ्जको कार्यालयमा थालिएको आमरण अनसन र सेयर ब्रोकर कम्पनीहरुलाई कारोबार रोक्न दिएको धम्कीहरुलाई लक्षित गर्दै धितोपत्र बोर्डले अवाञ्छित गतिविधि रोक्न लगानीकर्तालाई आग्रह गरेको छ ।

विगत केही दिनदेखि लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका मागहरु तथा दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।

बोर्डले दोस्रो बजार कारोवार संचालनमा संयमताको लागि अनुरोध गर्दै बजारलाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको अपिल गरेको छ ।

सेयर बजारका केही लगानीकर्ताहरूकाे समूहले अर्थमन्त्री, गभर्नर, धिताेपत्र बाेर्डका अध्यक्ष, नेप्सेका महाप्रबन्धककाे राजीनामासहित १४ बुँदे माग राखेर अनसन थालेका छन् ।

पछिल्लो समयमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी सरकारबाट उच्च स्तरीय समिति गठन भएको स्मरण गराउँदै उक्त समितिले चाडै नै आफ्नाे प्रतिवेदन बुझाउने क्रममा रहेको बोर्डले जनाएको छ ।

उक्त समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको छ ।

सम्बन्धित समाचार


धितोपत्र बोर्डले भन्यो-‘सेयरमा लगानी गर्न उत्तम समय हो अहिले’, २० वटा आधार समेत प्रस्तुत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.